प्रधानमन्त्री देउवासँग सिबिफिनले गर्याे छलफल

images
  • 61
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार
    प्रधानमन्त्री देउवासँग सिबिफिनले गर्याे छलफल
    images

    काठमाडौं 

    देशको आर्थिक अवस्था सुधार गर्नका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरी सुझाव पेश गरेको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरी सुझाव पेश गरेको हो ।

     

    CBFIN-Meeting-with-Prime-Minister_20220701111703.jpeg
    सरकारले ल्याएको आर्थिक वर्ष २०७९–८० को बजेट कार्यान्वयन तर्फ गईरहेको र नेपाल राष्ट्र बैंकले समेत आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको बेला सिबिफिनले प्रधानमन्त्री देउवालाई भेटेर सुझाव पेश गरेको हो । देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि नीतिगत कदमहरु चाल्न सिबिफिनको प्रतिनिधि मण्डलले माग गरेको छ ।

     

    सिबिफिनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरुको सहकार्यमा अध्ययन गरी तयार गरेका बैंक तथा वित्तीय संस्थाका अप्ठारा र चुनौतिहरु र सम्बोधनका लागि सुझावहरु–०७८, तरलता अभावका कारण र समाधानका लागि सुझावहरु–०७८, विप्रेषण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा तयार गरेको बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भइरहेको कर्जाले नेपालको व्यापार घाटामा प्रभाव–०७९, लगायतका सुझावसहितका प्रतिवदेनहरु प्रधानमन्त्री देउवालई बुझाएको हो । साथै वर्तमान समयमा देखिएका आर्थिक एवं वित्तीय क्षेत्रका समस्याहरुलाई संकलन गरि तयार पारिएको तीनमहले सुझाव समेत प्रधानमन्त्री देउवालाई बुझाएको सिबिफिनले बताएको छ ।

     
    सिबिफिनका अध्यक्ष गोल्यानले कोरोना महारमारी र विश्वमा घटेका विभिन्न घटनाक्रमबाट नेपालको अर्थतन्त्रमा समस्यामा परेको र उक्त समस्या समाधान गर्न आग्रह गरेका थिए । उनले समस्याग्रस्त उद्योग व्यवसायहरुको पुनरुत्थान, घरेलु, साना तथा मझौला उद्योगहरुको स्तरोन्नति, तरलताको समस्या समाधान, विप्रेषणको व्यवस्थापन, आयात–निर्यातबीचको असन्तुलन, बढ्दो व्यापार घाटा, उत्पादन तथा रोजगारीमा वृद्धि, निर्यात प्रवद्र्धन र उद्यमशिलताको विकाससहित बजेटले प्रक्षेपण गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा समेत जानकारी गराएका थिए । अध्ययन प्रतिवेदनहरुले औल्याएका निष्कर्ष एवं सुझावहरुको सम्बोधन तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्न सिबिफिनका अध्यक्ष गोल्यानले प्रधामन्त्रीसमक्ष आग्रह गरे । सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले समेत प्रतिवेदनको निष्कर्ष तथा सुझावहरुको वारेमा संक्षिप्त जानकारी गराएका थिए ।

    प्रधानमन्त्री देउवाले सिबिफिनले प्रस्तुत गरेका सुझाव र प्रतिवेदनहरुले औल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनिकरण तथा आयात प्रतिस्थापनका उपायहरु र निर्यातजन्य वस्तुहरु, लगानीका लागि पूँजी निर्माण तथा परिचालन जस्ता विषयहरुमा विशेष जिज्ञासा राखेका थिए । वर्तमान अवस्थामा देखिएका समग्र चुनौतिहरुको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रधानमन्त्री देउवाले आश्वासन दिए ।

    छलफलमा राज्यमन्त्री उमेश श्रेष्ठ, सिबिफिनका तर्फबाट उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, सचिव कुशकुमार मल्ली, महानिर्देशक गोपाल प्रसाद तिवारी र सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ समेत सहभागि भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend