ताक्लुङको सिँजाली माविको भवन निर्माण अलपत्र : एक दशकमा पनि पूरा भएन चिनियाँ प्रतिवद्धता

images
  • 150
    SHARES
  • चैत्र ११, २०७८ शुक्रबार
    ताक्लुङको सिँजाली माविको भवन निर्माण अलपत्र : एक दशकमा पनि पूरा भएन चिनियाँ प्रतिवद्धता
    images

    भुम्लिचोक, ११ चैत । चीन सरकारले १० वर्षअघि १० वटा हिमाली जिल्लामा हिमाली आवासीय विद्यालय वनाउन गरेको सम्झौताअनुसार निर्माणको काम गरेको छैन । सन् २०१३ मा चिनियाँ सरकारले हिमाली जिल्लामा अत्याधुनिक विद्यालय भवनलगायतका संरचना वनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सँग सम्झौता गरेको थियो ।

    1.jpg

    १० बर्षको अवधिमा जम्मा दुईवटा मात्र विद्यालय निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोक र लम्जुङमा हिमाली आवासीय विद्यालय निर्माण सम्पन्न भएका छन् । ‘दोलखा(जिरी)को विद्यालय भवन निर्माणका लागि सम्झौता भएको छ । तीनवटा विद्यालय वनाउन यही आर्थिकबर्षभित्र सम्झौता हुनेछ’, उनले भने ।

    एक दसक बित्दा पनि चिनियाँ आश्वासन पूरा नभएको भन्दै विद्यालयहरुले गुनासो गरेका छन् ।

    ‘न उनीहरुले वनाइदिए, न अरु दातृ संस्था गुहार्न पाइयो’, गोरखाको सिँजाली मावि ताक्लुङका प्रधानाध्यापक बलनारायण श्रेष्ठ भन्छन्, ‘कोभिडको तेस्रो भेरियण्ट आउनुअघि शिक्षा विभागमा सम्पर्क गरेको थिएँ । अब छिट्टै तपाईँहरुलाई नै सम्पर्क गर्छन् भनेर फर्काए । तर अहिलेसम्म कसैले पनि सम्पर्क गरेका छैनन् ।’

    विद्यालय भवन नबन्दा विद्यार्थीहरु साँगुरो जस्ताको टहरोभित्र पढ्नु परेको छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाल भ्रमणमा आएको चीन सरकारको उच्चस्तरीय टोलीले १० वटा हिमाली जिल्लामा चिनियाँ विद्यालय जस्तै सुविधासम्पन्न एकेक वटा आवासीय विद्यालय भवन, प्रयोगशाला, खेलमैदान, छात्रवास लगायतका संरचना वनाउने सम्झौता गरेको थियो ।

    २०७२ को भूकम्पले विद्यालयको ११ कोठे पुरानो भवन भत्किएपछि ‘रातो स्टिकर’ टाँसेको थियो । अहिले त्यही जोखिम भवन र जस्ताले बारेको टहरोमा पढाइ भइरहेकोे प्रअ श्रेष्ठको भनाइ छ । भवन नहुँदा कक्षा १–८ कक्षासम्मका विद्यार्थीलाई जस्ताले बारेको टहरामा पढाउनुपर्ने बाध्यता छ ।

    जस्ताले बारेको टहरोभित्र जाडोमा अति चिसो र गर्मीमा धेरै गर्मी हुँदा पठनपाठनमा समस्या हुने उनले बताए । टहरामा एउटा कोठाको आवाज अर्को कोठामा प्रस्ट सुनिन्छ । यसले पठनपाठनसमेत प्रभावित भएको उनको भनाइ छ । दरौदीं दैनिकबाट

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend