काठमाण्डाै
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न आज बिहीवार बिहान बी एन्ड बी अस्पताल पुग्नुभएका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।
प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउनुभयो । उहाँले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकल बोन (ब्युटी बोन) भाँचिएकाे थियो । गएकाे मङ्गलवार बेलुकी उनको शल्यक्रिया गरिएको थियो । उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।



