खोटाङ
खोटाङको रावाबेँसी गाउँपालिका ३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला पर्नुभएको छ ।

गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीया विश्वकर्मा आज बिहीवार बिहान मृत फेला पर्नुभएको हो । मङ्गलवार माइतीतर्फका हजुरबाको निधन भएपछि माइतीघर पुग्नुभएकी विश्वकर्मा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
बुधवार राति मेनुजा बहिनी र दुई छोरीसहित माइतीघरमा सुत्नुभएको थियो । रातको २ बजे शौलाचय गएर आएपछि सुत्नुभएकी उहाँ घरको तलामा बिहान मृत अवस्थामा फेला पर्नुभएको वडा सदस्य महेश श्रेष्ठले बताउनुभयो । श्रीमान् भूपेन्द्र वैदेशिक रोजगारीमा दुबई गएपछि मेनुजाले दुई छोरीसहित घर सम्हाल्दै आउनुभएको थियो । मेनुजाले बेला–बेलामा टाउको दुख्यो भन्ने गरेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो ।
मेनुजाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी उमेश लम्सालले बताउनुभयो ।
मेनुजा सात सय २० मत ल्याएर दलित महिला सदस्यमा दोस्रो पटक विजयी हुनुभएको थियो । उहाँ गाउँ कार्यपालिका सदस्यमा पनि विजयी हुनुभएको थियो । स्नातक उत्तीर्ण मेनुजाले कांग्रेसको वडा सभापतिको जिम्मेवारी पाउनुभएको थियो ।



