मन्त्री बडू : राजश्व लक्ष्य पूरा गर्न नाका भन्सारले सामान रोक्नुको कुनै अर्थ छैन

images
  • 159
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    मन्त्री बडू : राजश्व लक्ष्य पूरा गर्न नाका भन्सारले सामान रोक्नुको कुनै अर्थ छैन
    images

    काठमाडौं

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पूरा गर्नको लागि चोभार सुख्खा बन्दरगाह आउने कन्टेनरहरु वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन् । बिहीबार मन्त्रालयमा चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।

    badu-1-1-1536x864_20220707192813.png

     

    उनले राजश्व संकलनको लक्ष्य पूरा गर्नको लागि वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड नहट्ने हो भने कुनै अर्थ नहुने भन्दै त्यस्तो गर्न नहुने बताए । मन्त्री बडूले वीरगञ्ज नाकाबाट काठमाडौं उपत्यकामा आउने सामान धेरै भएकाले उपत्यकामा आउने लोड मात्रै घटाउन सके पनि छिटो छरितो हुने बताए ।

    उनले छिटो छरितो भएर सुविधाहरु बढ्दै जाँदा राजश्व पनि बृद्धि हुने बताए । मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहलाई गतिशिल र पूर्णरुपमा चलाउन कहाँ के समस्या रहेको छ बुझ्न इन्टरमोडललाई निर्देशन दिए ।

    उनले भने, ‘काठमाडौं उपत्यका भित्रको लागि विशेष सुविधा हुन्छ । भोलुम धेरै छ बाहिर नाकाहरुबाट काठमाडौंमा आउने सामानको । मुख्यतः हामीले वीरगञ्ज देखिरहेका छौं । अरु ठाउँबाट पनि केही त आउँदो रहेछ । काठमाडौ उपत्यकामा आउने लोड मात्रै घटाउन सक्यौं भने छिटो छरितो हुन्छ । छिटो छरितो भयो भने सुविधाहरु बढ्दै गयो भने राजश्व पनि बढ्छ । यो राजश्व बढाउने टार्गेट पनि होला । वीरगञ्जलाई छुटै राजश्व बढाउने टार्गेट थियो ।’

    उनले थपे, ‘राजश्व बढाउन उहाँ रोक्नुको कुनै अर्थ छैन । त्यसकारणले यसलाई अर्थ मन्त्रालय,राष्ट्र बैंकले पनि हेर्नुपर्छ । टार्गेट दिएको छ भनेर वीरगञ्जमा ब्लक गर्ने भयो भने ब्लकको ब्लक रहने लोड नहट्ने हो भने अर्थ केही हुँदैन । चोभार सुख्खा बन्दरगाहलाई गतिशिल बनाउनको निमित्त र पूर्णरुपमा चलाउन कहाँ के समस्या छ बुझ्यौं ।’

    मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहमा राज्यको ठूलो लगानी रहेकाले तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले बन्दरगाह सञ्चालनमा ल्याउनको लागि मार्केटिङ,रेडियोमार्फत प्रचारप्रसार गर्न निर्देशन दिए । मन्त्री बडूले बन्दरगाह सञ्चालनमा भएका समस्या र नीतिगत समस्या भए सरकार परिर्वतन गर्न तयार रहेको बताए ।

    उनले भने, ‘राज्यले यति ठूलो लगानी गरेपछि कष्टुम लागत कम गर्ने र सुख्खा बन्दरगाह फुलफेजमा चलाउनै पर्छ । चल्लुपर्छ । चोभार सुख्खा बन्दरगाह पूर्ण रुपमा सञ्चालन गर्न सबैको सहयोग आवश्यक छ । सञ्चालनमा कहाँ समस्या छन् त्यो हामी हेर्न तयार छौं । नीतिगत समस्या भए नयाँ नीति बनाउनु पर्छ । व्यवहारिक भए तत्काल समाधान गर्नुपर्छ । चोभार सुख्खा बन्दरगाह सञ्चालन आएको जानकारी नभएको विषय देखियो । मार्केटिङको समस्या देखियो ।’

    उनले फेरि भने, ‘मार्केटिङ प्रचारप्रसारको जरुरत छ चोभार सुख्खा बन्दरगाहमा यो सुविधा छ भनेर प्रचार किन नगर्ने दिनुस् रेडियोहरुमार्फत पनि भन्नुस् । यी सबै पक्षमा यहाँहरुको जानकारी जाओस् । भन्सार एजेण्टाको समस्या छैन रहेछ । एलसीको कुरा हो भने राष्ट्र बैंक,अर्थमन्त्रालय र गोदाम व्यवस्थापनसँग समन्वय गरौं । बन्दरगाह तत्काल सञ्चालन गरौं । धेरै समय ढिला गर्न हुँदैन । सीमा नाकाका भन्सारहरुले पनि सहयोग गर्नुपर्छ ।’

    मन्त्री बडूले भन्सार एजेण्डा तथा एलसी समस्या भए राष्ट्र बैंक,अर्थ मन्त्रालय र गोदाम व्यवस्थापनसँग समन्वय गरेर तत्काल चोभार सुख्खा बन्दरगााह सञ्चालनमा ल्याउनुपर्ने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend