भण्डारा
इलाका प्रहरी कार्यालय भण्डाराले सवारी चेकजाँचका क्रममा सवारी साधनमा नम्बर प्लेट नबुझिने, खुइलिएको र धमिलो भएकाहरुलाई ‘अन दी स्पट’ लेख्ने अभियान संचालन गरेको छ।

पछिल्लो समय नम्बर प्लेट बिगार्ने, झट्ट हेर्दा नबुझ्ने गरी राख्ने प्रवृत्ति बढ्दै गएको र यसले गर्दा दुर्घटना वा कुनै घटनामा अनुसन्धान गर्नसमेत समस्या पर्नसक्ने सम्भावनालाई मध्येनजर गर्दै भण्डारा प्रहरीले सवारी चेकजाँचको समयमा अन दी स्पट नम्बर प्लेट लेख्ने व्यवस्था गरेको हो ।

इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङका अनुसार शुक्रबार ठूला, मझौला र साना सवारी साधन गरी करिब ३० वटा सवारी साधनमा अन दी स्पट नम्बर प्लेट लेख्ने कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनले बताए । नम्बर प्लेट लेखाउने सवारी धनीले स्थानीय नम्बर प्लेट लेख्ने व्यक्तिलाई न्यूनतम शुल्क तिर्नेपर्ने हुन्छ । सो शुल्क लेख्ने र लेखाउनेबीच नै तय हुने गरेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।




