स्याङ्जा
आजभन्दा झन्डै एक वर्ष पहिले आफ्नै अगाडि गएको पहिरो सम्झिँदा अहिले पनि गल्याङ-१ राम्दी बजारकी सुशीला श्रेष्ठ झस्किनुहुन्छ । बाटोमाथि हेरेर लामो सास फेर्दै श्रेष्ठले भन्नुभयो, 'अब भने आनन्दले बस्न पाइने भयो।'

एक वर्ष अगाडि सडकभन्दा माथिबाट जनधनको क्षति हुने गरी गएको पहिरोले राम्दी बजार बासिन्दालाई अहिले पनि झस्काउने गर्छ । पहिरोका कारण धेरै स्थानीय महिनौँसम्म त्रासमा बसेका थिए । लामो समयसम्म भिरमा अड्किएका ढुङ्गा, रुख लगायतका वस्तुहरु हटाइएपछि राम्दी बजारवासीले मात्रै होइन यात्रुहरुले समेत राहतको महसुस गरेका छन् ।
'एक वर्षको अवधिमा हामीले तत्कालीन जनप्रतिनिधिहरुलाई पटक पटक गुनासाे गरेका थियौँ तर कसैले सुनुवाइ गरिदिएनन् । जसको कारण हाम्रो दैनिक जीवन कष्टकर हुन पुग्यो' श्रेष्ठले थप्नुभयो, 'बल्ल राहतको महसुस गरेकी छु।'
गल्याङ नगरपालिकाकाे पहलमा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपद प्रहरीले भिरमा अडकिएका ढुङ्गाहरु निकालेका हुन् ।
भट्टराईले भन्नुभयो, 'पहिरो नियन्त्रणका लागि अन्य कामहरु पनि गर्न सुरु गरेका छौँ ।' गएको वर्ष असारमा याे ठाउँमा सडकमाथिबाट खसेको पहिरोले पुर्दा एक महिलाको ज्यान गएको थियो भने चार घरमा क्षति पुगेको थियो ।
पहिरोले पुर्दा राम्दीमा पूजा गर्न गएकी वालिङ-१४ की धनमाया उम्राह मगरको ज्यान गएकाे थियो । स्थानीय दीपेन्द्र श्रेष्ठको होटेलमा खाजा खान गएकी मगरको ज्यान गएकाे थियो भने होटलमा रहेका अन्य व्यक्तिहरुले भागेर ज्यान जोगाएका थिए ।



