शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक बस्दै, सभापति चयन हुने

images
  • 145
    SHARES
  • आषाढ २८, २०७९ मंगलबार
    शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक बस्दै, सभापति चयन हुने
    images

    काठमाडौँ 

    पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय विशेष समितिको पहिलो बैठक बस्दैछ । मंगलबार दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने बैठकमा समितिको कार्यविधि र सभापति चयन गर्ने कार्यसूची रहेको छ ।

    dddddd.jpg

    समिति स्रोतका अनुसार लक्ष्मणलाल कर्णको अध्यक्षतामा बस्ने बैठकले सुरुमा समितिको कार्यविधि पारित गर्नेछ । कार्यविधिको खाका तयार पारिएको र त्यसमाथि छलफल भएपछि त्यसलाई पारित गर्ने र सभापति चयन गर्ने आजको बैठकको तयारी छ । त्यस्तै, समितिको आचारसंहिताका बारेमा पनि समितिमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    तत्कालीन अर्थमन्त्री शर्मालाई जेठ १४ मा आगामी आर्थिक वर्षको बजेटका करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेको छ । त्यो घटनामाथि छानबिन गर्नका लागि प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । असार २२ गते गठित समितिमा ११ सदस्य रहेका छन् ।

    समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव रहेका छन् । समितिको सचिवमा संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याल तोकिएका छन् ।

     
     

    प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend