पहिरोमुनि डराइडराई रोपाइँ

images
  • 164
    SHARES
  • आषाढ २८, २०७९ मंगलबार
    पहिरोमुनि डराइडराई रोपाइँ
    images

    सिन्धुपाल्चोक  वरीपरिको जमिन भासिँदै गइरहेको छ । वारी काली, पारी अँधेरी खोला उर्लिएर बस्ती बगाउलाझैं गरेर गडगडाइरहेछ । सिमसिमे पानीसँगै माथिबाट भासिएका खेतीयोग्य जमिन पहिरो बनेर क्रमश: लेदो बग्दैछ । तर तल्लो खेतमा रोपाइँमा व्यस्त रोपार, लाठे अनि दाँजे लगाइरहेकाहरु हरबखत तर्सिएर बारम्बार माथि हेर्छन् । जमिन मात्रै झरिरहेको देखेपछि ढुक्क हुन्छन् ।

    ffgghj.jpg

    ‘हे भगवान् यो बर्खाभरचाहिँ हात थापिदेउ, त्यसपछि त यो बस्ती आफैं जोगिन्थ्यो, हाम्रो मैदारो पनि सकाएर तिमीलाई चढाउन पाउँथ्यौं,’ बाह्रबिसे नगरपालिका वडा ९ राम्चे सहेलेका कृष्णबहादुर तिवारीले पहिरो हेर्दै लामो सुस्केरा हालेर भने । राम्चे सहेले गाउँको माथिल्लो भूभागमा निर्माणाधीन तामाकोसी प्रसारणलाइन आयोजनाअन्तर्गत टावर निर्माणको लागि ठेकेदार पक्षले जथाभावीखन्दा बस्ती वरिपरि भासिएको हो ।

     
    यहाँको बस्ती नै जोखिममा परेपछि स्थानीयले जनप्रतिनिधिलाई गुहारे, कम्पनी र ठेकेदार पक्षले यहाँको जोखिम न्यूनीकरण, क्षतिपूर्तिमा लाग्ने प्रतिबद्धता दिए । तर त्यो आश्वासनमै सीमित रह्यो, ठेकेदार पक्ष काम बन्द गरेर चुप बसे । स्थानीय दैवलाई गुहारेर रोपाइँ गर्दै जोखिममै बस्न बाध्य भए । ‘अब त बासकै ठेगान नहोलाजस्तो छ, धानको आश के गर्नु हजुर ? यहाँको बस्ती पहिरोले दिनरात बगाउलाझैं लाग्छ , जेभएपनि आफ्नो कर्म छाड्नु भएन त्यही भएर रोपाइँ गरिँदैछ,’ उनले भने ।

    तस्बिर सौजन्य : रामचन्द्र बस्नेत

    सहेले गाउँमाझैं तल्लो जैसी टोलमा त्रासमै रोपाइँ गर्दैछन्, स्थानीय पदममाया तिमल्सिना । उनी बाह्रबिसे नगर ९ की निर्वाचित वडा सदस्य समेत हुन् । जिल्लाका तीन नगर र नौ गाउँपालकिाभरझैं मानो रोपेर मुरी फलाउने बेला पहिरोमुननि तर्सिँदै रोपाइँ गर्नुपरेको सुनाइरहँदा उनी खुबै तनावमा देखिन्थिन् । ‘माथि टावरले अलपत्र छाडेको निमार्णस्थलमा वर्षातको पानी जम्मा भएर ठूलो ताल बन्न थालेको छ, त्यो फुट्ने डर उत्तिकै छ, यता जमिन भासिएर सिंगो गाउँ जोखिममा छ, रातदिन चैन छैन, अमिलो मन लिएर रोपाइँ गर्नुपरेको कसले देख्ने ?,’ उनले प्रश्न गरिन् ।

    यसबारे वडा, नगर, कम्पनी, ठेकेदार पक्षलाई तारान्तार खबर गरेर अन्य जनप्रतिनिधिलाई गुहारिरहेको उनले दुखेसो गरिन् । बाह्रै स्थानीय तहको पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुभरका कृषकलाई अहिले रोपाइँको चटारोले एकैछिन पनि फुर्सद छैन । ‘सबैतिर आनन्दसाथ कृषि यज्ञ गरिरहेका छन् , हामीचाहिँ बस्ती लैजालाजस्तो हुँदा पनि धान रोप्दैछौँ, घरखेत पहिरोमुनि छ, अन्यत्र जग्गा जमिन छैन, कृषिबाटै जीविका चलेको छ यो नगरे के गर्नु फेरि ?,’ स्थानीय स्वथानी तिमिल्सनाले भनिन् । उनको दर्जनौं रोपनी जग्गा भासिएर बग्दैछ । बाँकी बसेको जग्गालाई मर्मतसम्भार गरेर रोपाइँ गरिरहेको उनले बताइन् ।

    यी त प्रतिनिधि पात्र मात्रै हुन्, तिवारी र तिमिल्सनाझैं सहेलेका ५० भन्दा बढी परिवार विकल्प नभएपछि पहिरोमुनि जोखिम मोलेर धमाधम रोपाइँ गर्दैछन् । ‘लिदी घुम्थाङझैं पहिरोमै हराइने त्रासबीच भगवान भूमेलाई गुहार्दै धान रोप्नबाहेक विकल्प भएन,’ उनले भनिन् ।

     

    अघिल्लो ०७६/ ०७७ वर्षको तुलनामा यो वर्ष समयमै वर्षा भइरहेकाले सबैतिर असारे रोपाइँ सहज भइरहेको र आहिलेसम्म ५० प्रतिशत भएको कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्लामा ३ हजार दुई सय ३५ हेक्टरमा धानबाली लगाइने गरिएको छ । जसमा धानबाली लगाइने फाँटमध्ये ३ हजार २ सय ५९ हेक्टरमा चैते धान लगाइन्छ ।

    पहिरोको डरलाग्दो अवस्था देखेपछि बाह्रबिसे नगर ९ का अध्यक्ष कृष्णबहादुर रायमाझीले राम्चे सहेलेको पहिरोमुनि रोपाइँ भएको जोखिमपूर्ण अवस्थाबारे आफू जानकार भएको र जमेको ताल खोलिएको बताए । ‘कम्पनी, ठेकेदारका प्रतिनिधिले यहाँको जोखिम न्यूनीकरण गर्न ताल खोल्ने, सुरक्षित बनाउने आवश्यक सबै सहमति गरिसकेका छन्, त्यसको लागि जनप्रतिनिधि एक भएर पहलकदमी लिँदैछौं, आवश्यक तारजालीको व्यवस्था भइसकेको छ,’ उनले भने ।

    बाह्रबिसे नगर ९ कै राम्चे, सहेले, दशमुरे, जैसी टोल, भिरकुना, चाम्बोटेजस्ता गाउँभरका सैयौं रोपनी जग्गा बर्खे खोला र पहिरोले भासिएर जोखिममा परेको उल्लेख गरे । त्यसको क्षर्तिपूर्ति, पहिरो रोकथामको लागि काममा कुदिरहेको उनले प्रष्ट्याए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend