गुणस्तरहीन सडकको भुक्तानीमा रोक

images
  • 150
    SHARES
  • आषाढ २८, २०७९ मंगलबार
    गुणस्तरहीन सडकको भुक्तानीमा रोक
    images

    खोटाङ 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गुणस्तरहीन सडकको भुक्तानीमा रोक लगाएको छ । नगरपालिकाले वडा नं. ८ बुवालुङमा निर्माण गरिएको सडक गुणस्तरहीन भएपछि भुक्तानीमा रोक लगाएको हो ।

    oooooooop.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित सडक । फाइल तस्बिर : डम्बरसिं राई/कान्तिपुर

     
     
    मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय भवनसम्म गरिएको सडक ढलानको भुक्तानी रोकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । माटोमाथि रडबिनै ढलान गरिएकाले भुक्तानीमा रोक लगाइएको भट्टराईको भनाइ छ । ‘माटोमाथि रडबिनै ढलान गरिएको छ‚’ भट्टराईले भने‚ ‘गुणस्तरहीन देख्दा-देख्दै कसरी भुक्तानी हुन्छ ?’

    अनुगमनमा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्सम, सहसचिव अम्बिकाप्रसाद चौलागाईं, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईलगायतको टोलीले असार २४ गते अनुगमन गरेको थियो । अनुगमनको क्रममा त्रुटि देखिएको र त्यसलाई सुधार्न सुझाव दिएको प्रदेश १ का प्रदेश योजना आयोगका सहसचिव चौलागाईंले बताए । ‘बेस-सब-बेस, रडबिनै मापदण्ड नपुर्‍याई ढलान गरिएको देखियो‚’ चौलागाईंले भने‚ ‘एउटै सडकमा पटक-पटक लगानी गर्न नसकिने भएकाले सुधार्न सुझाव दिइएको छ ।’

    अनुगमन समितिका संयोजक तथा नगर उपप्रमुख विशन राईले गुणस्तरहीन जुनसुकै योजनाको पनि भुक्तानी रोकिने बताए । नगरलाई भ्रष्टाचारमुक्त बनाउने योजनाका साथ लागिपरेको उनको भनाइ छ । ‘यो त एउटा नमुना मात्र हो, यस्ता खाले गुणस्तरहीन जुनसुकै योजनाको भुक्तानी हुँदैन ।’ राईले भने‚ ‘नगरलाई भ्रष्टाचारमुक्त बनाउन निर्मम नभई सम्भव छैन ।’

     
    स्थानीय हरिकुमार खत्रीको अध्यक्षतामा बनेको उपभोक्ता समितिमार्फत सडक ढलान गरिएको थियो । संघीय सरकारको ७६ लाख ८२ हजार दुई सय ७६ र नगरपालिकाको दश लाख गरी ८६ लाख ८२ हजार दुई सय ७६ रुपैयाँको लागतमा सक्ने गरी २०७८ असोज १८ गते सम्झौता भएको थियो । उक्त रकमले पाँच सय ५० मिटर लम्बाई र साँढे चार मिटर चौडाईको सडक ढलान गरिएको वडाध्यक्ष लीलाकुमार चौहानले बताए ।

    वडाध्यक्ष चौहानले भने राजनीतिक प्रतिशोधले सुनियोजित तरिकाले भुक्तानी रोकिएको आरोप लगाएका छन् । ‘राजनीतिक प्रतिशोधले सुनियोजित तरिकाले भुक्तानी रोकिएको छ‚’ चौहानले भने‚ ‘यसको जिम्मेवारी नगरप्रमुख र उपप्रमुखले लिनुपर्ने हुन्छ ।’

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित सडक । फाइल तस्बिर : डम्बरसिं राई/कान्तिपुर

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend