काठमाडौँ
नेपाली कांग्रेसले सांसद पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेपछि बसेको सत्तारुढ गठबन्धनको बैठकले उपसभामुखमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो ।

अर्घाखाँचीको भुसाल कांग्रेसको समानुपातिकतर्कको सांसद तथा संसदमा कांग्रेसकी सचेतक हुन् । सचेतक भुसालले पार्टीको निर्णय अनुसार नै आफूले उपसभामुख पदका लागि उम्मेदवारी दिन लागेको पुष्टि गरिन् । कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी भुसाल पहिलो संविधानसभाको अर्घाखाँची २ बाट सदस्यमा निर्वाचित भएकी थिइन् ।
संविधानले नै प्रतिनिधसभाको सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ । सभामुख सापकोटा माओवादीबाट निर्वाचित सांसद हुन् । २०७४ सालको आमचुनावमा पछि माओवादी केन्द्रका कृष्णबहादुर महरा सभामुख भएका थिए । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजिनामा दिएका थिए ।



