काठमाडौँ
शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र गत वर्षको प्रश्नपत्रसँग हुबहु दोहोरिएकाले यस्तो कार्य गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै समिति सभापति जयपुरी घर्तीले यस्तो लापरबाही गर्नेलाई कारबाही गर्न निर्देशन दिएकी हुन् ।

समितिको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र हुबहु बाहिर ल्याउनेहरूलाई तत्काल कारबाही गर्नुको विकल्प नभएको बताएका छन् ।
उनले अब त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्रिविमा उच्च शिक्षा अध्ययन गर्ने कूलमध्ये ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने भएकाले पनि प्रश्न उठ्ने गरेको बताएका छन् ।
उनले भने, ‘संसद्मा सांसदहरूको प्रश्नमा हामी गम्भीर भएर छलफल गरिरहेका छौं । विश्वविद्यालयलाई नै हामीले पुनर्संरचना गरेर अगाडि नबढाउँदासम्म उच्च शिक्षाको ८० प्रतिशत व्ययभार बेहोरिरहेकाले अरु विश्वविद्यालय ठूलो नभएकाले उनीहरूमाथि प्रश्न उठ्दैनन् ।’



