दोस्रो संस्करणको भानु कविता महोत्सवको उपाधी भानु कविता महोत्सवमा परमानन्द-संस्कृत-गुरुकुलम्-विद्यापीठका संयोग बस्यालले प्राप्त गरेका छन्।

रेडियो अन्नपूर्ण नेपालको आयोजनामा गत वबर्षदेखि सुरु भएको महोत्सवको दोस्रो संस्करणको उपविजेता सुशिला शर्मा धमला र कल्पना अधिकारी भट्टराई घोषित भए।
खुल्ला प्रतिस्पर्धाका लागि कविता पठाउन आह्वान गरिएअनुसार प्राप्त कविताहरू मध्येबाट प्रारम्भिक छनौट गरी असार २३ गतेदेखि कवि र कवयत्रीकै आवाजमा कविता प्रशारण गरेको रेडियोले बुधबार भानु जयन्तीको अवसर पारेर विजेता घोषणा गरेको हो ।
महोत्सवमा उत्कृष्टलाई १ लाख नगद र उप-विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको रेडियोका स्टेसन म्यानेजर शिरोमणी दवाडीले जानकारी दिए।
अन्तिम प्रतिस्पर्धाका लागि छनौटमा परेका उत्कृष्ट ५१ कविता पुस्तकमा संग्रहित गरिनेछ ।
महोत्सवमा यस वर्ष वरिष्ठ साहित्यकार डा. बमबहादुर जिताली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति अध्यक्ष प्रकाश पौडेल माइला, साहित्यकार भिष्म उप्रेती, कवयित्री प्रभा भट्टराई आचार्य र साहित्यकार डा. मित्रबन्धु पौडेल निर्णायकका रुपमा रहेका थिए।
गत वर्ष कोरोना महामारीमा केन्द्रित रहेर प्रतियोगिताको आयोजना गरिएकोमा यसवर्ष विश्वभरि नै जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै संकटमा पर्न थालेपछि जनचेतना जगाउने प्रयासस्वरुप जलवायु परिवर्तन र यसका असर,पर्यावरण र प्रकृति विषय तोकिएको थियो ।
यसवर्ष प्रतियोगिताको प्रत्यक्ष प्रसारण काठमाडौं रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जसहित धनगढीमा रेडियो एक्टिभ एफ. एम, सुर्खेतमा बिजी एफ.एम, रुपन्देहीमा किस एफ.एम, जनकपुरमा कलर्स एफ.एम, सुनसरीमा गणतन्त्र एफ.एम र झापामा किङ एफ.एमले प्रत्यक्ष प्रशारण गरेका थिए।
गतवर्षको संस्करणमा प्रज्वल अधिकारी उत्कृष्ट घोषित भएका थिए।



