चितवन, असार ३० गते आशिष उप्रेती
स्वास्थ्य सेवा उपयोग गर्न पाउनु नागरिकको दायित्व हो । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको अनिवार्य दायित्व पनि हो । तर यो दायित्वबाट राप्ती नगरपालिका भने पन्छिएको आभाष हुन थालेको स्थानियको गुनासो छ ।
करिव ६४ हजार भन्दा बढी जनसंख्या रहेको जिल्लाको सुदुर पूर्वमा रहेको यस नगरपालिकामा एउटा नगर अस्पताल भने चालू अवस्थामा रहेको छ । करिब ४ बर्ष अघिदेखि संचालनमा आएको भण्डारा अस्पताल स्वास्थ्य चौकिबाट स्तर उन्नति भै १० बेड क्षमताको अस्पतालको रुपमा संचालित भएको हो । तर अस्पतालको गुणस्तरीयता, अन्तरङ बिरामिको चाप र नगरवासिले गरेको भरोसालाई आधार मान्ने हो भने यो अस्पताल नभएर स्वास्थ चौकी या स्वस्थ्य केन्द्र मात्रै हो । यस अस्पतालमा ३ जना मेडिकल अफिसर तथा ३ जना स्टाफ नर्स सहित २६ जना कर्मचारी तथा स्वस्थ्यकर्मीहरु कार्यरत छन् ।

त्यस्तै आधुनिक ल्याब पनि स्थापना गरिएको छ । तर नगरवासिको भरोसा जित्न नसक्दा दैनिक २०/२२ जना भन्दा बढी बिरामी अस्पतालमा आउने गरेका छैनन् । सरकारबाट १० बेड क्षमताको सन्चालन अनुमती पाएको यस अस्पतालले ३ वटा बेड मात्र उपलब्ध गराएको छ । त्यो पनि इमर्जेन्सी बेड बाट मात्र उपचार गरिएको छ । भवन अभावको कारणले इमर्जेन्सी उपचार कक्ष र ओपिडी कक्ष एउटै कोठाबाट सन्चालन गरिएको छ । त्यस्तै एउटै भवनबाट कार्यालय, मिटिङ्ग हल, फार्मेसी, ल्याब तथा एक्स रे, इमर्जेन्सी वार्ड र ओपिडी कक्ष एकै ठाउबाट संचालन गरिएको छ । जसका कारण सेवा प्रवाहमा कठिनाइ भएको भण्डारा अस्पतालका प्रमुख बुद्धि बहादुर विश्वकर्माले बताए । त्यसो त संघिय सरकारको आर्थिक सहयोगमा नजिकै अस्पतालको नया भवन बन्न सुरु भएको छ । तर यो भवन निर्माणको रफ्तार हेर्दा दुई तीन बर्ष भित्रमा निर्माण सम्पन्न हुने कुनै छाटकाट छैन । त्यसैले नया भवन निर्माण नहुन्जेलसम्म के नगरवासिले गुणस्तरीय स्वास्थ्य सेवा उपयोगबाट बन्चित हुनुपर्ने हो ? के मेडिकल अथवा भरतपुर नै पुग्नु पर्ने हो ? भन्ने जस्ता गम्भीर प्रश्न अहिले उठ्न थालेको छ ।



