मकवानपुर
डिभिजन वन कार्यालय राप्तीकाे ८ लाख ६३ हजार रुपैयाँ कर्मचारीकाे व्यक्तिगत खातामा राखेकाे पाइएकाे छ।

बितेको आर्थिक वर्षमा निजी क्षेत्रका सिमेन्ट उद्योगसँग सम्झौता बमोजिमको रकम डिभिजन वन कार्यालय राप्तीका तत्कालीन सहायक वन अधिकृत प्रदीपनाथ शर्माले कार्यालयको खातामा राख्नुपर्ने रकम व्यक्तिगत खातामा राखेकाे पाइएकाे हाे ।

निजी क्षेत्रका सिमेन्ट उद्योग रिद्धिसिद्धी सिमेन्ट उद्योग र गुराँस सिमेन्ट उद्योगसँग नर्सरी मर्मत र बिरुवा उत्पादनका लागि भनेर सम्झौता गरेर दिएको भुक्तानी रकम सहायक वन अधिकृतले व्यक्तिगत खातामा जम्मा गरेको महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
एक वर्ष अगाडि व्यक्तिगत खातामा जम्मा गरेको रकम सहायक वन अधिकृत शर्माले वन कार्यालयको खातामा तीन दिन अगाडि जम्मा गरिसकेको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो।



