आज राति मैले
एउटा भयानक सपना देखेँ
म मरेको सपना ।

म भुइँमा लास भएर लडेको थिएँ
मलाई घेरेर बसेका थिए
मेरा छिमेकीहरु थिए
मेरी श्रीमती रोइरहेकी थिइन्
मेरा छोराछोरीहरु पनि रोइरहेका थिए
असङ्ख्य मान्छेहरु थिए
घरभरि
आँगनभरि ।
एउटा भन्दै थ्यो–
‘वहाँ नै हो मलाई चिनाउने
नत्र म उहिल्यै हराइसक्थेँ’
उसको कुरा सुनेर मलाई खुब हाँसो उठ्यो
किनकि मेरो नाम चलेको देखेर
ऊ मलाई सबभन्दा बढी रिस गर्थ्यो
अर्को भन्दैथ्यो–
‘उहाँ नै हो मलाई
अधिकार, कर्तव्य, दायित्व
र अनुशासन सिकाउने
नत्र म उहिल्यै पत्रु भएर गइसक्थेँ’
उसको कुरा सुनेर मलाई अचम्म लाग्यो
मलाई सबभन्दा बढी दुःख दिने उही थियो
ऊ मेरो लाखौं रूपैयाँ खाएर बेपत्ता भएको थियो
म सुनिरहेको थिएँ
धेरैले मेरो यसरी नै तारिफ गरिरहेका थिए
मेरो गुणगान गाइरहेका थिए ।
एउटी महिला रूँदै भनिरहेकी थिइन्–
‘वहाँ त मेरो साक्षात् भगवान् हो
म रछ्यानमा फ्याँकिएको बेला
उहाँ नै हो मलाई उठाएर ल्याउने’
तर, उनी थिइन् मेरो कुरा काट्दै हिँड्ने
अर्की भन्दै थिइन्–
‘उहाँ त मेरो पथप्रदर्शक हो
मैले बाटो बिराउँदा
उहाँ नै हो मलाई बाटो देखाउने’
तर, उनी थिइन् मेरो बदनाम गर्दै हिँड्ने
म देखिरहेको थिएँ,
धेरैले मलाई एउटा महान् मान्छे मर्यो भनेर
श्रद्धाञ्जली दिइरहेका थिए
मलाई फूल चढाइरहेका थिए ।
मरेपछि मात्रै थाहा भयो मलाई
मान्छेहरुलाई चिन्न त आफू मर्नुपर्ने रहेछ ।



