पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ

images
  • 113
    SHARES
  • श्रावण १, २०७९ आइतबार
    पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ
    images

    चितवन 

    भरतपुरमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् ।

    kutpit-kutiya.jpg

     

    आचार्य राष्ट्रिय समाचार समिति (रासस)का स्थानिय संवादाता हुन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।

    कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् । पौडेल शुक्रबार राति नै पक्राउ परेका हुन् ।

    उनीहरूलाई कानुनानुसार कारबाही गर्ने गरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । कार्यालय परिसरभित्रै मदिरा सेवन गरेर बसेका कर्मचारीले समाचारदाता आचार्यलाई कुटपिट गरी दुर्व्यवहार गरेका थिए । उनको हातमा चोट लागेको छ भने कपडा समेत च्यातिदिएका थिए । समूह नै मिलेर कुट्न थालेपछि बन्द भएको गेट नाघेर ज्यान जोगाउन बाध्य भएको उनले बताए ।

    समाचारदाता आचार्यलाई ती कर्मचारीले कार्यालय परिसरभन्दा केही पर रहेको चितवन पोस्ट दैनिकको कार्यालयसम्म लखेट्दै लगेका थिए । उनलाई कर्मचारीले कुटपिट गरेपछि दुईवटा मोबाइल पनि नियन्त्रणमा लिएका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend