चितवनमा
चितवनमा रगतको अभावपछि आज बुधवार काठमाण्डाै र पोखराबाट ल्याइँदैछ । पोखराबाट चार सय र काठमाण्डाैबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घ–संस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् ।

यहाँ दैनिक एक सय ५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो । रगत लिनका लागि गाडी पठाइएको उहाँले जानकारी दिनुभयो । बेलुकीसम्ममा पोखराबाट ल्याउने रगत आइपुग्नेछ ।
त्यस्तै भाेलि बिहीवार यहाँको चितवन मेडिकल कलेजमा एक जना बिरामीको कलेजो प्रत्यारोपण हुँदैछ । त्यसका लागि केन्द्रीय रक्त सञ्चार सेवा काठमाण्डाैबाट ४५ युनिट रगत ल्याइँदैछ । एउटै बिरामीका लागि त्यो रगत जगेडामा राख्ने गरी ल्याउन लागिएको हो ।
काठमाण्डाैबाट जहाजमार्फत रगत ल्याउन लागिएको पौडेलले जानकारी दिनुभयो । रगत अभाव पूर्तिका लागि बिरामीका आफन्त र केन्द्रले जिल्लाका रक्तदातालाई डाकेर रगतको व्यवस्थापन गर्दै आएको छ । केन्द्रले बोलाएपछि रगत दिनेहरू तीन हजार हाराहारीमा रहेका पौडेलको भनाइ छ ।
जिल्लामा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ । रक्त क्यान्सर भएका एउटै बिरामीलाई चार सय युनिटसम्म रगत दिएको कार्यालयमा तथ्याङ्क रहेको पौडेलले बताउनुभयो । यहाँको आधा रगत क्यान्सरका बिरामीका लागि जाने गर्दछ ।
क्यान्सरका साथै यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ । मेडिकल कलेजहरूमा अङ्ग प्रत्यारोपणसम्मका उपचार हुने हुँदा रगतको माग उच्च हुने गर्दछ । काठमाण्डाैपछि धेरै प्रसूति भरतपुरमा हुने गर्दछन् । दुर्घटनाका बिरामीको सङ्ख्या पनि यहाँका अस्पतालहरूमा धेरै हुने गर्दछ । प्रसूति र दुर्घटनाका घाइतेहरूलाई पनि रगतको माग बढी हुने गर्दछ ।



