काठमाडौँ
नेकपा एमालेका सांसद महेश बस्नेतले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम. अधिकारी खोज्न छाडेर विदेशी शक्ति गुहारेर पालैपालो देश लुट्न योजना बनाइरहेकाहरुलाई खोज्न आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद बस्नेतले सत्तारुढ दलका सांसदहरूलाई एम. अधिकारी खोज्न छाडेर पहिला देशी, विदेशी शक्ति गुहारेर पालैपालो राष्ट्रपति, प्रधानमन्त्री बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्न खोजिरहेका नेता एस. देउवा, माओवादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा खोजेर कारबाही गर्न सुझाव दिनुभएको हो । नेता बस्नेतले सबैभन्दा पहिला अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा कानुनविपरीत गतिविधि गर्नेहरूलाई खोज्न सुझाव दिनुभयो ।
नेता बस्नेतले भन्नुभयो, ‘बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारका दरहरू गडबड गरेर सीसीटीभीलगायत प्रमाण नष्ट गर्ने र ६ अर्ब रुपैयाँभन्दा बढी कमिसन र गडबड गर्ने माओवादी नेता जे. शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने होइन र ?’ उहाँले थप्नुभयो, ‘पेट्रोलियम पदार्थको भाउ महंगिएर कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्तिमन्त्री कांग्रेस नेता डी. बडूलाई कारबाही गर्नुपर्ने होइन र ?’ सांसद बस्नेतले मल र पुस्तक अभाव गराउनेहरूलाई पनि खोज्नुपर्ने बताउनुभयो । ‘मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने एम. यादव र डी.पौडेलहरूलाई खोजेर कारबाही गर्नुपर्ने होइन र ?’ उहाँले कायममुकायम प्रधानन्यायाधीशलाई पनि कारबाही गर्नुपर्ने सुझाव दिनु्भयो । ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरोध गरेर कामु खाइरहेका डी. कार्कीहरूलाई कारबाही गर्नुपर्ने होइन र ?’
नेता बस्नेतले एमसीसी पास गर्न व्याख्यात्मक टिप्पणी गर्ने र एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस.देउवा र एम. खड्कालगायतलाई कारबाही गर्नुपर्ने होइन र ?’भन्दै प्रश्न गर्नुभयो ।



