राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताए

images
  • 109
    SHARES
  • श्रावण ८, २०७९ आइतबार
    राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताए
    images

    काठमाडाैँ 

    राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन्।

     

     

    राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोगहरू बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धि र पूर्वतयारीको काम गर्नुपर्नेमा जाेड दिए।

    नेपालको स्वास्थ्य क्षेत्रको क्षमताका कारण कतिपय बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था रहेको समेत अध्यक्ष तिमिल्सिनाले औंल्याए।

    ‘नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्यसम्बन्धी अध्ययनका लागि रकम बाहिरिरहेको छ’, उनले भने, ‘यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो। अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन जरुरी छ।’

     

    स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि तथा विश्वास बढाउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरतसँगै जनतप्रतिनिधिको भूमिका पनि महत्त्वपूर्ण हुने धारणा उनले राखे।

    ganesh-timilsina.jpg

    राजनीतिक परिवर्तनका नाममा देशले लामो समय गुजारेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब देशमै अध्ययन, उपचारको व्यवस्था र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताए।

    उनले भने, ‘उपचार र अध्ययनका लागि छिमेकी देशमा जाने संख्या धेरै छ। तर, आँखालगायत केही रोगको सुलभ र गुणस्तरीय उपचार नेपालमा पनि हुन थालेकाले यहाँ आउने क्रम सुरु भएको छ। यो संख्या वृद्धि गर्न हाम्रो क्षमता अझ अभिवृद्धि हुनुपर्छ।’

    त्यसैगरी, अध्यक्ष तिमिल्सिनाले कोरोना लगायतका महामारी र अन्य रोगहरू बढ्ने क्रममा रहेकाले पूर्वतयारीका काममा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरुरी रहेको पनि बताए।

    त्यसैगरी, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले आपतकालीन पूर्वतयारीलाई सबल बनाउन र समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सांसदहरूको भूमिका महत्त्वपूर्ण रहेकाे बताए।

    राष्ट्रिय सभाका सांसदहरू सहभागी रहेकाे अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका छन्।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend