‘नेपालमा पूर्वदेखि पश्चिमसम्म जाेखिमै जाेखिम, प्रकोप न्यूनीकरणका उपकरणमा सरकारले लगानी गर्नुपर्छ’

images
  • 159
    SHARES
  • श्रावण १०, २०७९ मंगलबार
    ‘नेपालमा पूर्वदेखि पश्चिमसम्म जाेखिमै जाेखिम, प्रकोप न्यूनीकरणका उपकरणमा सरकारले लगानी गर्नुपर्छ’
    images

    काठमाण्डौ 

    शिक्षाविद् प्रा. डा. विशालनाथ उप्रेतीले नेपाल विश्वमा सबैभन्दा बढी प्रकोपको जोखिममा रहेको देशमध्ये एक रहेकाे बताउनुभएको छ । नेपाल एसोसिएशन अफ हम्फ्रे फेलो (एनएएचएफ) र अमेरिकी दूतावासको समर्थनमा सोमवार भएको दिगो विकास शृङ्खलाको १३ औँ संस्करणको ‘विपद् न्यूनीकरण, तयारी र प्रतिकार्य गर्ने नेपालको क्षमतालाई बलियो बनाउने’ कार्यक्रममा प्रा. डा. उप्रेतीले यस्तो बताउनुभएको हो । उहाँले प्रतिघण्टा औसत एक मिलिमिटर वर्षामा पनि पहिरो जान सक्ने बताउनुभयो । उहाँका अनुसार दैनिक एक सय ४४ मिलिमिटरभन्दा बढी वर्षा हुँदा हिमाली भेगमा पहिरोको जोखिम अझ बढी हुन्छ । 

    pic_1qnusBr8Oc.jpg

    प्रा. डा. उप्रेतीले नेपालको पूर्वी, मध्य पश्चिमदेखि सुदूरपश्चिमसम्म आठदेखि आठ दशमलव पाँच रेक्टरस्केलसम्मको महाभूकम्प जान सक्ने सम्भावना रहेको पनि बताउनुभयो । ‘कोशीदेखि पूर्वमा १३ सय वर्ष र गोरखादेखि पश्चिमी क्षेत्रमा पाँच सय वर्षभन्दा बढी समय भूकम्प नगएकाले ती ठाउँमा ठूलो भूकम्प जान सक्छ । यसले दुई करोड जना मानिसलाई क्षति गर्न सक्छ’, उहाँले भन्नुभयो । प्रकोप न्यूनीकरणका उपकरणमा नेपाल धेरै पछाडि रहेको भन्दै उहाँले पूर्वचेतावनी प्रणाली स्थापना गर्न सके प्रत्येक वर्ष सयौँको जीवन बचाउन सकिने बताउनुभयो । यसका लागि सरकारले लगानी गर्नुपर्ने भए पनि कुनै चासो नदिएको प्रा. डा. उप्रेतीको गुनासो छ । 

    कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले मौसमी विपद् र प्रकोपमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा अझै पनि मौसमी विपद्को पूर्वानुमान गर्नसक्ने प्रविधि वा क्षमता विकास नभएको उहाँले बताउनुभयो । जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सङ्घ–संस्था र विश्वविद्यालयसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ छ । ‘मौसमी विपदमा पूर्वानुमानको अवस्था पहिलाभन्दा अहिले केही सुधार भएको छ । तर प्रयाप्त स्रोत, साधनको अभाव अझै पनि छ । मोबाइलबाट एसएमएस, रेडियो–टीभीमा सूचना र विज्ञापनले पनि विपदमा असरको सम्भावना कम गर्न सहयोग पुर्‍याएकाे छ ।’ 

    यस्तै प्रकोप जोखिम न्यूनीकरण विशेषज्ञ कृष्ण कार्कीले जोखिम कम गर्न महिलाको भूमिका पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । विपद्लाई महिलाले आफ्नाे क्षमता विकास गर्ने अवसरका रूपमा लिने गरेकाले यस्तो समयमा महिलाको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । 

    कार्यक्रममा गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले विपद्को पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभको काम गृह मन्त्रालय र देशका अन्य सुरक्षा निकायबाट गरिरहेको बताउनुभयो । विपद् व्यवस्थापनको बढी जिम्मेवारी पालिकाकै भए पनि धेरै काम सङ्घीय सरकारबाट नै भएको उहाँले बताउनुभयो । 

    यस्तै विपद् पूर्वतयारी नेटवर्क नेपालका उपाध्यक्ष राजु थापाले विपद् न्यूनीकरण पूर्वतयारीमा सोचेजस्तो काम हुन नसकेको गुनासो गर्नुभयो । ‘नेपालमा आपत्कालीन अवस्थाको पूर्वतयारीमा जम्मा ४१ प्रतिशतमात्र काम भएको देखिन्छ । सबै निकायले मिलेर काम गर्ने हो भने विपद् व्यवस्थापनमा सफल भइन्छ’, उहाँले भन्नुभयो । 

    कार्यक्रममा इको–डिजास्टर रिस्क रिडक्शन (डीआरआरका) का कार्यक्रम प्रबन्धक सञ्चिता न्यौपानेले जोखिम नियन्त्रण र यसले पुर्याउने क्षति न्यूनीकरण गर्न नसक्नुमा सबै निकाय उत्तिकै जिम्मेवार रहेको बताउनुभयो । अहिले सबै निकाय यो विषयमा केही जिम्मेवार हुन थालेको उहाँको बुझाइ छ । 

    एलुम्नी इन्गेजमेन्ट इनोभेशन फन्ड (एईआईएफ) का संस्थापक अध्यक्ष दीपक मरहट्टाले विपद् न्यूनीकरणमा विद्यालय तहबाटै विद्यार्थीलाई शिक्षा दिनुपर्ने धारणा राख्नुभयो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप र विभिन्न खेलको माध्यमबाट विद्यार्थीलाई विपद्को बारे जानकारी, विपद्मा बच्ने उपायबारे तालिम दिँदै आएको पनि उहाँले सुनाउनुभयो । 

    कार्यक्रममा डा. मीनबहादुर क्षेत्रीले विपद् न्युनीकरण, तयारी र प्रतिकार्य गर्ने नेपालको क्षमतालाई सुदृढ गर्ने विषयमा छलफल गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । नेपालको शिक्षा, पर्यटन, ऊर्जा, कृषि क्षेत्रको विकासमा (एनएएचएफ) ले अनुसन्धान र काम गर्दै आएको क्षेत्रीले बताउनुभयो । 

    यूएसएआईडी नेपालका डेभिड मानले नेपाल सुन्दर देश भए पनि पूर्वदेखि पश्चिमसम्म जोखिमै जोखिम रहेको बताउनुभयो । विपद्को जोखिमबाट बच्न राम्रो उपाय भए पनि नेपालमा प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो । 

    कार्यक्रममा निष्कर्ष दिँदै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा नेपाल सरकारका पूर्वसचिव दीपेन्द्र पुरुष ढकालले प्राकृतिक प्रकोपबाट बच्न सबैमा सूचनाको पहुँच हुनुपर्ने, मिडियाको सही प्रयोग, सही पूर्वानुमानको व्यवस्था हुनुपर्ने र विश्वसनीयता हुनुपर्ने बताउनुभयो । जोखिम न्यूनीकरणमा प्रशस्त अनुसन्धान भएको पनि कार्यान्वयन हुन भने बाँकी रहेको उहाँले बताउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend