कंगोमा राष्ट्रसंघीय मिसनविरुद्ध प्रदर्शन : तीन शान्ति सैनिकको मृत्यु, नेपाली सुरक्षित

images
  • 90
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    कंगोमा राष्ट्रसंघीय मिसनविरुद्ध प्रदर्शन : तीन शान्ति सैनिकको मृत्यु, नेपाली सुरक्षित
    images

    ११ साउन, काठमाडौं ।

    द्वन्द्वग्रस्त मुलुक कंगोमा खटिएको संयुक्त राष्ट्र संघीय शान्ति मिसन मोनुस्कोको विरोधमा भएको प्रदर्शनले उग्ररुप लिँदा तीनजना शान्ति सैनिकको मृत्यु भएको छ ।

    संयुक्त राष्ट्र संघले प्रेस विज्ञप्ति जारी गर्दै एक शान्ति सैनिक र दुई यूएन प्रहरीको मृत्यु भएको पुष्टि गरेको हो ।

    Congo_Mission.jpg

    समाचार संस्था रोयटर्सका अनुसार मिसनको फोर्स हेडक्वार्टर रहेको शहरमा भएको तनावमा कम्तिमा १२ जना प्रदर्शनकारी पनि मारिएका छन् । कंगोको बुटेम्बोस्थित सैनिक बेसमा सोमबारदेखि मोनुस्को मिसनविरुद्ध आन्दोलन चर्किएको छ ।

    मृत्यु हुनेमध्ये दुईजना आफ्ना शान्ति सैनिक रहेको भारतका विदेश मन्त्री एस जयशंकरले बताएका छन् । तेस्रा व्यक्ति चाहिँ मोरोक्कोका सैनिक भएको बुटेम्बाका प्रहरी प्रमुख पल नग्माले भनेका छन् ।

    संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि भएको कुनै पनि आक्रमण ‘युद्ध अपराध’ हुने बताएका छन् । उनले कंगोका सम्बन्धित निकायलाई घटनामा जिम्मेवारहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भनेका छन् ।

    गुटेरसले प्रदर्शनकारीको मृत्युबारे अनुसन्धान गर्न पनि कंगोका निकायलाई संयुक्त राष्ट्रसंघका तर्फबाट सहयोग गरिने बताएका छन् ।

    मोनुस्को मिसन के हो ?

    संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ खटिएको ‘यूनाइटेड नेसन अग्नाइजेसन स्टाबलाइजेसन मिसन इन डीआर कंगो–मोनुस्को’ विश्वकै ठूलो शान्ति मिसन मध्येमा पर्छ ।

    तर यो मिसनले दशकौंदेखि कंगोमा रहेको हिंसा रोक्न असफल भएको भन्दै प्रदर्शनकारीले आलोचना गरिरहेका छन् । द्वन्द्वग्रस्त क्षेत्रका हतियारधारी समूहको सामना गर्न मिसन असफल भएको उनीहरुको भनाइ छ ।

    तनाव भएको क्षेत्रमा १२० बढी सशस्त्र समूह रहेको बताइन्छ । संयुक्त राष्ट्र संघले कंगोमा सन् १९९९ मा पहिलो पटक ‘अब्जर्भर मिसन’ पठाएको थियो । सन् २०१० देखि यसलाई मोनुस्को मिसन भनिएको थियो । यस मिसन अन्तरगत १६ हजार बढी सैनिकले काम गर्ने संयुक्त राष्ट्र संघको वेवसाइटमा उल्लेख छ ।

    प्राप्त विवरणहरुका अनुसार कंगोको माथिल्लो सदनका अध्यक्ष मोडेस्ट भाटीले शान्ति सैनिकलाई ‘आफ्नो झोला कस्न’ भन्दै अभिव्यक्ति दिएपछि आन्दोलन चर्किएको हो । कंगो सरकारका प्रवक्ता पट्रिक मुयायाले चाहिँ सुरक्षा निकायले प्रदर्शनविरुद्ध ‘चेतनावनी’ स्वरुप गोली चलाएको भनेका छन् ।

    आन्दोलनको पहिलो दिन सोमबार सडकमा सयौंको संख्यामा उत्रिएका प्रदर्शनकारीले सडक जाम गराएका थिए भने संयुक्त राष्ट्र संघविरुद्ध नारावाजी गरेका थिए । शान्ति मिसनको हेडक्वार्टर र लस्टिक बेसमा तोडफोड र लुटपाट गरेको भनिएको छ ।

    तनावको स्थिति सिर्जना भएपछि हेलिकोप्टरबाट एयरलिफ्ट गरेर यूएनका कर्मचारीहरुलाई त्यहाँबाट निकालिएको थियो ।

    नेपाली सुरक्षित

    सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार कंगोमा अहिले करिब एक हजार शान्ति सैनिक तैनाथ छन् । ‘नेपाली शान्ति सैनिक भएको ठाउँमा अहिले तनाव भएको होइन’ उनले अनलाइनखबरसँग भने, ‘हाम्रा सबै सैनिक सुरक्षित छन् ।’

    उनका अनुसार जंगीअड्डाले कंगोको अवस्थालाई नजिकबाट नियालिरहेको छ र आवश्यक निर्देशन दिइएको छ । कंगोमा नेपाली सेनाको द्रुत प्रतिकार्य टोली, इञ्जिनियरिङ इकाइ र मिलिट्री अब्जरभर/स्टाफ अफिसर गरी तीन खाले सैनिक खटिएका छन् । ती इकाइ बुनिया र बेनीमा छन् ।

    गत वर्ष चैत अन्तिम साता कंगोमा तैनाथ ‘नेप क्यूआरएफ कम्पनी’ मा कार्यरत एक नेपाली शान्ति सैनिकले ‘अपरेशन बाली’ का क्रममा ज्यान गुमाएका थिए । प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालित सर्च अपरेशनमा सुर्खेतका सैनिक अनिल गुरुङको मृत्यु भएको थियो ।

    उनलाई हेलिकोप्टरमार्फत उद्दार गरी उपचारका लागि अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषित गरेका थिए ।

    नेपालले १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य प्राप्त गरेको थियो । तयसको तीन वर्षपछि सैनिक पर्यवेक्षकका रुपमा नेपालले विश्व शान्ति स्थापना कार्यमा सहभागिता जनाउन थालेको थियो ।

    नेपाली शान्ति सैनिक सबैभन्दा बढी दक्षिण सुडानमा खटिएका छन् । शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा सुरक्षाकर्मी पठाउने मुलुकको सूचीमा अहिले नेपाल चौथो स्थानमा पर्छ ।

    पहिलोमा बंगलादेश, दोस्रोमा इथोपिया, तेस्रोमा रुवान्डा, पाँचौंमा भारत र छैठौंमा पाकिस्तान पर्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend