सजना तिमल्सिना, काठमाडौं, २५ चैत । साल्मोनेला टाइफीको सङ्क्रमणबाट हुने गम्भीर प्रकारको रोग टाइफाइडबाट नेपालमा बर्सेनि १५ वर्षमुनिका १ लाख ५ हजार बालबालिका सङ्क्रमित हुने गरेका छन् । जसमध्य १ हजार ४२ जनाको मृत्यु हुने गरेको छ ।

गएको ५ वर्षको सरकारी तथ्याङ्क अनुसार नेपालमा बर्सेनि औसत ४ लाख ५० हजारमा टाइफाइड पुष्टि हुने गरेको छ । पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार बिरामी भएर अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड चौथोपर्ने देखिएको छ ।
सरकारले टाइफाइड विरुद्धको खोप दिन भएपछि अभिभावक उत्साहित भएका छन् । टाइफाइड रोगको सङ्क्रमण सबै उमेर समूहमा हुन्छ । परिवार कल्याण महाशाखाले गरेको पछिल्लो अध्ययनले नेपालमा हाल८२ हजार ४ सय ४९ जना टाइफाइडका बिरामी रहेको देखाएको छ । सङ्क्रमित हुनेमध्ये ६० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् ।
सङ्क्रमित व्यक्तिको दिसा, दूषित खाना वा पानीको माध्यमबाट यो रोग सर्दछ । सरसफाइमा ध्यान दिन सकेको खण्डमा भने यसबाट केही हदसम्म जोगिन सकिन्छ । टाइफाइडविरुद्ध खोप सुरू अभियान सुरू गर्ने देशमा नेपाल, दक्षिण एसियामै पहिलो राष्ट्र हुने सरकारले दाबी गरेको छ ।
बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउनुको महत्व तथा यो अभियान सुरू गर्नुका कारण बालबालिकालाई यसरोगबाट जोगाउनु रहेको परिवार कल्याण महाशाखाका प्रमुख डा. सागर दाहालको भनाइ छ । टाइफाइड भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने, बान्ता हुने लगायत लक्षण देखिन्छ ।



