काठमाडौं
ट्रेलर रिलिजदेखि नै ‘पानीफोटो’ दर्शकमाझ प्रतीक्षित थियो । मौलिक कथावस्तुमा बनेको फिल्मले निर्माणदेखि नै चर्चामात्र होइन, दर्शकलाई कौतुहलता पनि जगाउन सक्यो ।

तर, घरेलु बक्सअफिसमा शुक्रबारको अकुपेन्सी हेर्दा ‘पानीफोटो’ ओपनिङ निकै कमजोर छ । शनिबार अकुपेन्सीमा केही सुधार हुने अनुमान छ । खगेन्द्र लामिछाने निर्देशित फिल्मको भविष्य अब ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।
मुख्य मल्टिप्लेक्सन चेन क्यूएफएक्ससहित ठूला हलमा फिल्मको शुक्रबारे अकुपेन्सी २० प्रतिशत छ जुन निकै न्यून हो । अब यो फिल्मको भविष्य पहिलो सप्ताहन्तको ट्रेन्डमा निर्भर हुनेछ ।
हुन त आर्ट हाउस फिल्मको व्यवसायिक ग्राफ क्रमशः उकालो हुनु हो । तर, यसको पूर्वसर्त भनेको दर्शकको सकारात्मक समीक्षा नै हो । जसको कारण अबको तीन दिनमा ‘पानीफोटो’ले त्यो ‘वर्ड अफ माउथ’ हासिल गर्नु जरुरी छ ।
पहिलो दिनको पहिलो सो हेर्न पानीफोटोले संचारकर्मीलाई बिग मूभिजमा आमन्त्रण गरेको थियो । जहाँ, निर्देशक लामिछाने फिल्मको भविष्यलाई आशावादी सुनिए ।
उनी भन्दै थिए, ‘मलाई त फिल्मले राम्रो ब्यापार गर्छ भन्नेमा आशावादी छु । अपेक्षा त नहुने कुरै भएन । फिल्मको बिहानी शो राम्रो छ । दर्शक अब बढ्नुहुन्छ ।’ अभिनेत्री मलिका महत र मेनुका प्रधान पनि फिल्मको भविष्यलाई लिएर आशावादी सुनिए ।
कुरा ‘पानीफोटो’को मात्र हैन, दुई भारतीय फिल्महरु ‘एक भिलियन रिटन्र्स’ र ‘विक्रान्त रोना’को समेत हो । यी दुई फिल्मको ओपनिङ पनि भयंकर कमजोर छ ।



