ठोरी
वरपर बाँझो जमिन । बीचमा पर्खाल । पर्साको ठोरी गाउँपालिका ४ विशालचोकस्थित श्री माध्यमिक विद्यालय विजयबस्तीको स्वामित्वमा रहेको जग्गाको बीचमा यसरी पर्खाल बनाईएको छ ।

गत आर्थिक वर्षको अन्त्य तिर उक्त पर्खाल निर्माण भएको हो । २६ मिटरको उक्त पर्खाल खेल मैदान घेर्नका लागि लगाएको भनिएको छ । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष बनेका लालबहादुर श्रेष्ठले उक्त पर्खाल बनाएका हुन् ।
असार मसान्तमा हतार-हतार बजेट भ्याउन र काम गरेको जस्तो देखाउन बिना कुनै योजना नै पर्खाल बनाईएको देखिन्छ । आठ फिट अग्लो पर्खाल कहिले निर्माण सम्पन्न हुन्छ भन्ने प्रश्न गर्दा उनीसँग कुनै ठोस जवाफ नै छैन । खेल मैदानको लम्बाई एक सय ४५ मिटर र चौडाई एक सय १८ मिटर छ ।
सडकतर्फ एक सय मिटर पर्खाल बनाइने र बाँकीमा मेस जाली लगाउने उनी बताउँछन् । तर कहिलेसम्म बन्छ भन्ने प्रश्न उनी गैर जिम्मेवार जवाफ दिन्छन्, ‘लाग्न त अब कति लाग्छ त्यो थाहा हुँदैन । एकै वर्षमा सकाउन पनि सकिन्छ । पाँच वर्षमा सकाउन पर्ला ।’ उक्त पर्खाल निर्माणका लागि चालु आवमा पनि आठ लाख बजेट छुट्टाईएको उनी बताउँछन् ।
उनका अनुसार पर्खाल बनाएर विद्यालयलाई हस्तान्तरण गरिनेछ । विद्यालयलाई आयस्रोत हुने गरी पर्खालको सडक पट्टीको भागमा दुई कोठे सटर बनाइने उनी बताउँछन् । तात्कालिन प्रधानपञ्चले विद्यालयले भोगचलन गर्ने गरी उक्त जमिन विद्यालयलाई दिएको हो ।



