रत्ननगर
राप्रपा चितवन क्षेत्र नं १ को प्रदेश ‘क’ र ‘ख’को आयोजनामा प्रदेश निर्वाचन क्षेत्रस्तरीय सक्रिय सदस्य तथा पार्टीको मुद्दा एवं २२ बुँदे मागका सम्बन्धमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य रामहरि कँडेलले नेता कार्यकर्ताहरुलाई राप्रपाले उठाएका एजेन्डा बोकेर जनताको घरदैलोमा जान आग्रह गरे । उनले जनताको जनजीविकाको विषयमा राप्रपा सधैँ अग्रपंक्तिमा रहँदै आएको उल्लेख गरे ।

राप्रपा केन्द्रीय वाणिज्य विभाग सदस्य हरि अधिकारीले आसन्न निर्वाचनमा जनताको घरदैलोमा जाँदा संवैधानिक राजसंस्था, हिन्दुराज्य पुनःस्थापना, संघीयता खारेजीलगायत २०४६ सालदेखि राज्यकोषबाट तलब खाएका उच्च पदस्थ कर्मचारी र लाभको पदमा रहेका दलका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग बोकेर जानुपर्ने बताए ।
उनले भने, ‘अबको समय भनेको देश सिध्याएर दलाल बनाउने कि दलाल सिध्याएर देश बनाउने भन्ने हो । यसमा जनताले विवेक पुर्याएर मत दिनुपर्छ ।’
राप्रपाका जिल्ला अध्यक्ष रुद्र ढकालले पछिल्लो समय राप्रपाप्रति जनविश्वास बढ्दै गएकाले जनताको आवाज बोकेर चुनावमा होमिनुपर्ने बताए ।
कार्यक्रममा राप्रपा बागमती प्रदेशका सहसचिव माधव भट्टराईले नेताकार्यकर्तालाई उत्साहका साथ चुनावी कार्यक्रममा लाग्नुपर्ने बताए । कार्यक्रममा क्षेत्र नं-१ का क्षेत्रीय सदस्य डिल्लीराम गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
राप्रपा क्षेत्र नं १ का प्रदेश ‘ख’का अध्यक्ष हरिशरण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विभागका केन्द्रीय सदस्य डा. वसन्तप्रसाद अधिकारी, राप्रपा खैरहनी नगरअध्यक्ष कृष्णप्रसाद तिवारी, राप्रपा रत्ननगरका प्रवक्ता सन्तोष लामा, युवक संयोजक सुर्जन तामाङ, रत्ननगर महिला संगठन अध्यक्ष सरिता बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हालै कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पदक विजेता खैरहनीका खेलाडी कृष्ण थापालाई सम्मान गरिएको थियो ।



