काठमाडौं, चैत २७-
पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर यो सरकारले ध्वस्त बनाएको बताए । ‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन् । आर्थिक अवस्था यस्तो हुने थिएन् । पुरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो । मुलुक श्रीलंका बन्ने अवस्थामा पुगिसक्यो ।’ पौडेलले भने ।
अर्थमन्त्रीले मौद्रिक नीति ल्याउनको निमित्त गर्भनरलाई रोक लगाउने काम गरेको आरोप लगाउँदै उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधारको काम गरिरहेका गर्भनरलाई आफ्नो सचिव र सह(सचिव जस्तो बनाए । उनले त्यसरी नै चलाउन खोजे ।’ वर्तमान सरकारकै कारण रेमिट्यान्स घटेको उनको भनाइ छ । ‘अघिल्लो सरकारको पालामा विदेश जानेको संख्या घट्दा पनि ११ प्रतिशतले रेमिट्यान्स बढेको थियो । अहिले विदेश जानेको संख्या बढेको छ । तर, रेमिट्यान्स घटेको छ ।’ पौडेलले भने ।
अर्थतन्त्र यस्तो अवस्थामा आउनुको पछाडि सरकारका नीतिहरू जिम्मेवार रहेको उनको भनाइ छ । व्यापार घाटाले छलाङ मारेको भन्दै उनले भने, ‘यो सरकारको नीतिको कारण वित्त प्रणालीमा निराशा छाइरहेको छ । अर्थनीति र वित्त नीतिका निकायबीच पनि आपसमा समझदारी छैन् । पारस्परिक सम्बन्धको अभाव छ ।’



