नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिए

images
  • 180
    SHARES
  • भाद्र १, २०७९ बुधबार
    नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिए
    images

    काठमाडाैँ

    नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिएको छ। आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन्।

    hatiyar-banduk-goli.jpg

     

    भन्सार विभागका अनुसार २०७६ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालले ८ अर्ब ९३ करोड ४३ लाख ९६ हजार रुपैयाँको हातहतियार खरिद गरेको देखिन्छ।

    गत आव २०७८/७९ मा १ अर्ब ९८ करोड १७ लाख ७८ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ। आव २०७६/७७ मा २ अर्ब ३७ करोड ३८ लाख २८ हजार रुपैयाँ र २०७७/७८ मा ४ अर्ब ५७ करोड ८७ लाख ९० हजार रुपैयाँको हातहतियार नेपालले आयात गरेको छ।

    गत आवमा २०७८/७९ मा ५८ करोड ९४ लाख ३४ हजार रुपैयाँको ३६ लाख ७४ हजार ८२ थान बम, ग्रिनेड्स, माइन्स, मिसाइल नेपालले आयात गरेको थियो । आर्टिलरी विपन्स, पेस्तोल, सर्टगन, ग्यास गन लगायतका हातहतियार नेपाल भित्रिएको विभागले जनाएको छ।

    नेपालमा हातहतियारहरू अमेरिका, दक्षिण कोरिया, सुडान, इटाली, भारत, चीन, जर्मनी, फ्रान्स लगायतका देशबाट आउने गरेको छ।गत आवमा मात्र नेपालले दक्षिण कोरियाबाट १ अर्ब २१ करोड ७० लाख रुपैयाँको विभिन्न हातहतियार आयात गरेको छ।

    सोही समयमा चीनबाट ५६ करोड ७७ लाख ४९ हजार रुपैयाँ र भारतबाट ८ करोड ९४ लाख ९३ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको छ।आव २०७७/७८ मा मात्र दक्षिण कोरियाबाट नेपालले ३ अर्ब ९६ करोड ६ लाख ६० हजार रुपैयाँको हातहतियार आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ।

    यस्तै, आव २०७६/७७ मा दक्षिण कोरियाबाट नै १ अर्ब ४० करोड ४६ लाख ८० हजार रुपैयाँको विभिन्न हातहतियार नेपालले आयात गरेको थियो।पछिल्लो तीन वर्षमा नेपालले सबैभन्दा बढी हातहतियार दक्षिण कोरियाबाट खरिद गरेको देखिन्छ।

    उक्त अवधिमा नेपालले दक्षिण कोरियाबाट ६ अर्ब ५८ करोड २३ लाख ४० हजार रुपैयाँको हातहतियार आयात गरेको छ।दक्षिण कोरियापछि चीन र भारतबाट नेपालमा ठूलो मात्रामा हातहतियार आउने गरेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend