भोगचलन गरेको वर्षौँ भयो तर लालपुर्जा भएन

images
  • 39
    SHARES
  • भाद्र १९, २०७९ आइतबार
    भोगचलन गरेको वर्षौँ भयो तर लालपुर्जा भएन
    images

    पर्वत ।

    जिल्लाको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्वासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।

    lalpurja2019-05-09-05-05-33_20201218123004.jpeg

    सुकुम्वासी बस्तीका सुकमाया परियारलाई लालपुर्जा पाइन्छ भन्ने आशा मरिसकेको छ । बस्तीकै मालढुङ्गा–बेनी सडकको छेवैमा एकतले छाप्रोमा बस्दै आएकी राममाया परियारलाई पनि बासको चिन्ता छ । ‘सडक विस्तार गर्दा घर जान्छ भनेका छन् आफ्नो अन्त कतै जग्गा–जमिन छैन’, उनले भनिन्, ‘कहाँ बस्ने के खाने दिनभर ज्याला–मजदुरी गरेर कमाएको पैसाले बिहान–बेलुकाको छाक टार्नै धौधौ छ । जमिन छैन, बस्ने बास कसरी बनाउने ।’

     

    ‘बाउबाजेको पालादेखि यहीँ बसियो, अन्यत्र जाने ठाउँ पनि छैन । वर्षौँदेखि बसे पनि लालपुर्जा नहुँदा समस्या परेको छ’, उनले दुखेसो पोखिन् । ‘लालपुर्जा दिलाइदिन्छौँ भन्नेहरु धेरै आए तर हामीले अहिलेसम्म पाउन सकिरहेका छैनौँ’, उनको गुनासो थियो । ‘चुनावताका पार्टीका नेताहरू आउँछन्, आश्वासन बाँड्छन् तर काम गर्दैनन्।’

     

    यहाँ बसोबास गर्ने ३० घरपरिवारको दुखेसो एउटै छ । सबै जनाको एकतलाको छाप्रोको बास छ । लालपुर्जा नभएकाले घर बनाउन सक्नेले पनि बनाउन पाएका छैनन् । बस्ती तल सडक र माथि सामुदायिक वन छ । सडक विस्तार गर्दा बस्तीलाई असर पुग्ने देखिन्छ भने माथि सामुदायिक वन भएकाले बस्ती विस्तार गर्न समस्या भएको सुकुम्वासी बताउँछन्।

    वर्षौँदेखि बस्दै आएको जमिन आफ्नो नाममा नामसारी नहुँदा सरकारी सेवा सुविधा प्राप्त गर्नबाट समेत वञ्चित हुनुपरेको सीता परियारले सुनाइन् । ‘गाउँपालिकाबाट प्राप्त हुने विभिन्न अनुदानका कृषि कार्यक्रममा समेत हामीहरूले पाउँदैनौँ’, उनले भनिन्, ‘ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नुछ । आजकल काम पनि पाइन छाड्यो, पालिकाले अनुदानमा बाख्रापालन, कुखुरापालनलगायतका कार्यक्रम दिन्छ भन्छन् तर हामीहरूले अहिलेसम्म पाएका छैनौँ ।’

    Tansen CementCentral College

    यहाँका सबै जनाले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दछन् । गाउँपालिकाको वडा नं ३ मल्लाजको चिउरी पतलाबाट ४० वर्षअघि बसाइँ सरेर लामाखेतस्थित धुलेपाल्सिङ सामुदायिक वन छेवैमा आएर सुकुम्वासी बसेका हुन् । पटक–पटक जग्गा नामसारी गरी लालपुर्जा पाउन माग गरे पनि उनीहरूको माग अझै सुनुवाइ भएको छैन।

    ‘चुनावताका आउने नेताहरूले लालपुर्जा दिलाइदिने आश्वासन दिन्छन्, जितेर गएपछि फर्किएर आउँदैनन्’, उनले भनिन्, ‘भोट माग्दा मात्र यो बस्तीमा नेताहरू आउँछन् तर हाम्रा समस्या बुझ्न फर्किएर नआउँदा हाम्रो मन दुखेको छ ।’ लालपुर्जाको आशमा धेरैपटक कुश्मा पुगेर फारम भरे पनि लालपुर्जा हातमा नपरेको सुकुम्बासीहरूले बताएका छन् ।

    लामाखेतका सुकुम्बासीहरूको समस्या वर्षौँदेखिको भएको र समाधानको पहल भएको पूर्व वडाध्यक्ष भीष्म मल्लले बताए । राष्ट्रिय भूमि आयोगमा सबै कागजात पुर्‍याएको र पुर्जा पाउने प्रक्रियामा रहेको उनको भनाइ छ  । राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले सबै भूमिहीन, अव्यवस्थित बसोवासी र सुकुम्वासीका आवेदनहरु सङ्कलन भइसकेको अब लालपुर्जा वितरणको प्रक्रियामा रहेको जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend