मैले गरेका काम सबै छर्लङ्ग छ, महाअभियाेग लगाउनुपर्ने कुनै कारण छैन : जबरा

images
  • 68
    SHARES
  • भाद्र २६, २०७९ आइतबार
    मैले गरेका काम सबै छर्लङ्ग छ, महाअभियाेग लगाउनुपर्ने कुनै कारण छैन : जबरा
    images

    काठमाण्डौ –

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज आइतवार चौथो दिन बयान दिनुभएको छ । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ ।

    cholendra_jabara_iZPGLSUpy2.jpg

    सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहोर्‍याउनुभएको छ ।

    आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले भन्नुभयो, ‘नेपालको संविधान विपरीत मैले केही गरेको छैन, हरेक पार्टीमा बारका पदाधिकारीको आकाङ्क्षा हुन्छ, हरेक पार्टीले न्यायाधीश नियुक्तिका लागि नाम नै पठाएका हुन्छन्, मैले गरेको काम सबै छर्लङ्ग छ ।’ उहाँले आफूले संविधान र कानुनबमोजिम काम गरेको बताउनुभयो ।

    आजसम्म जबरालाई ३५ वटा प्रश्न गरिएको छ । अब मङ्गलवार आठ वटा प्रश्नमा सवाल/जवाफ हुनेछ । महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले भन्नुभयो, ‘मङ्गलवार सवाल र जवाफ सकिनेछ, बाँकी काम अघि बढाइनेछ ।’

    समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । जबराविरुद्ध गएको फागुन १ गते प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

    जबराविरुद्ध नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियो । त्यो पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend