बागमतीलाई हराउँदै मनाङ चितवन गोल्डकपको सेमिफाइनलमा

images
  • 124
    SHARES
  • भाद्र २८, २०७९ मंगलबार
    बागमतीलाई हराउँदै मनाङ चितवन गोल्डकपको सेमिफाइनलमा
    images

    चितवन –

    मनाङ एफसी चितवनमा जारी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    manang-vs-bagmati-sarlahi-2048x1195.jpg

    पहिलो क्वाटरफाइनल खेलमा बागमती नगरपालिका सर्लाहीलाई हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको हो । मनाङले बागमतीलाई सदन डेथमा निराश बनायो ।

    सोमबार निर्धारित समयको खेल एक-एक गोलको बराबरीमा सकिएपछि आज (मंगलबार) बिहान टाईब्रेकर गरिएको थियो । सोमबार लाइट नपुगेपछि टाईब्रेकर आजका लागि सारिएको थियो ।

    टाईब्रेकरमा दुबै टिमले ४-४ गोल गरेपछि खेल सडन डेथमा पुग्यो । सडन डेथमा मनाङका अमिर श्रेष्ठले गोल गर्दा बागमतीको आयुष राना मगरको प्रहार मनाङका गोलरक्षक अशोक बरालले बचाए ।

    त्यसअघि टाईब्रेकरमा मनाङका पुजन उपरकोटी, शिव गुरुङ, एकराज बुढाथोकी र कमल श्रेष्ठले गोल गर्दा कप्तान रुपेश केसीको प्रहार बागमतीका गोलरक्षक मनोज प्रधानले बचाए । यस्तै बागमतीका प्रितम स्याङ्बो, इमान लामा, अबिनाश स्याङ्तान र अनिल राना मगरले गोल गर्दा सुमन चाम्लिङ राईको प्रहार आकाशियो ।

    यसअघि निर्धारित समयमा दुबै तर्फबाट एक-एक गोल भएको थियो । पहिलो हाफमा बागमतीले उपहार गोलमा अग्रता लिएको थियो । २६ औं मिनेटमा मनाङका प्रवेश बुढाथोकीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे ।

    दोस्रो हाफमा मनाङले बराबरी गोल फर्कायो । दोस्रो हाफको २० औं मिनेटमा फोफानाले मनाङका लागि बराबरी गोल फर्काए । खेलको म्यान अफ दि म्याच मनाङका फोफाना घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

    गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा आज एभिनर एफसी क्यामरुन र फर्साटिकर एफसी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा नारायणगढको क्याम्पा चौरमा जारी गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend