चितवन ।
चितवनको कालिका एफएमले आफ्नो २०औं बार्षिकोत्सवको अवसरमा महिनाव्यापी कार्यक्रम गर्ने भएको छ । एफ.एम परिसरमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलन गरि विगतका कार्यक्रमलाई निरन्तरता दिँदै, केहि नयाँ कार्यक्रम गर्ने जनाएको छ ।
महिनाब्यापी रुपमा आयोजित बार्षिक उत्वसवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् ।
बार्षिकउत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरि यसपटक ८ वटा कार्यक्रम तय गरिएको छ । यो बर्ष थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव कार्यक्रम नयाँ कार्यक्रमका रुपमा ल्याइएको छ । असोज १ गते देवघाटधाममा रहनुभएका जेष्ठ नागरिक सम्मान गरि बार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने निर्देशक पौडेलले जानकारी दिनुभयोे ।
उहाँका अनुसार, असोज ३ गते संविधान कार्यान्वयन तथा चुनौती विषयक अन्र्तक्रिया, ४ गते थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव, असोज १५ गते बृहत साहित्यिक जमघट कार्यक्रम, २२ गते अन्तर कर्मचारी डण्डिवियो प्रतियोगिता हुनेछ । त्यस्तै दशै बहारः कालिका उपहार कार्यक्रम असोज १० गतेदेखि सुरुभई २२ गतेसम्म सञ्चालन हुनेछ ।
असोज २६ गते सांगीतिक कार्यक्रम तथा बार्षिकोत्सव समापन समारोह हुनेछ । ‘आवाजविहीनहरूको आवाज’ बनेर २०५९ सालमा चितवनबाट प्रशारण गर्दै आएको कालिका एफ.एमले मनोरञ्जनका लागि कालिका एफएम ९१ मेगाहर्जबाट २०६४देखि निरन्तर गीतसंगीत प्रशारण गर्दै आएको छ, भने एकता, शान्ति र संस्कारको संवाहकको नारा तय गर्दै विगत ९ वर्षदेखि टिभी कालिका एचडीको प्रसारण गर्दै आएको छ । पछिल्लो पटक समयको मागलाई मध्यनजर गर्दै कालिका न्युज डटकमको अनलाईन समेत सञ्चालनमा छ ।
२००० वाट क्षमताको ट्रान्समिटर र अत्याधुनिक उपकरणबाट प्रशारणमा रहेको कालिका एफ.एम. लाई रेडियो, इन्टरनेट, एप लगायतका माध्यमबाट सुन्न सकिन्छ । प्रविधिको विकाससँगै हाम्रो पात्रो, नेपाली पात्रो लगायतका रेडियो सुन्न मिल्ने विभिन्न एपबाट सहजै रुपमा विश्वका धेरै ठाउँबाट सुन्न सकिने व्यवस्था गरिएको छ ।
नेपाली सञ्चारमाध्यमहरुमा अनलाइनमा सर्वाधिक श्रोता रहेको रेडियोका रुपमा कालिका अग्रपंक्ति रहेको निर्देशक पौडेलले बताउनुभयो । नेपाली रेडियोहरुको इतिहासमै अनलाइनमा एकैसाथ एक लाख बढी श्रोताले सुन्ने एक मात्र रेडियोका रुपमा कालिका एफएम चिनिएको छ ।






