भरतपुर ।
विकास चोक आमा समूहले आयोजना गरेको पाँचदिने उद्घोषण कला तथा क्षमता अभिवृद्धि तालिम सकिएको छ ।

भरतपुर–९ स्थित कोकाकोला पछाडि रहेको दुईवटा महिला समूहले संयुक्तरूपमा तालिकको आयोजना गरेको हो । महिलाहरूमा बोल्ने कला र क्षमता विकासको उद्देश्यले तालिम आयोजना गरिएको तालिमकी संयोजक अनिता रानाभाटले बताइन् ।

पाँचदिने कार्यक्रमबाट महिलाहरूले मञ्चमा उभिएर माइक समात्न सक्ने भएको महिला विकास आमा समूहकी अध्यक्ष नारायणी रानामगरले बताइन् । यो पाँचदिने कार्यक्रम घरभित्र चुल्होचौकामा सीमित भएका महिलाहरूका लागि सुनौलो अवसर भएको उनले बताइन् ।

प्रशिक्षार्थीहरूले पनि पाँच दिनमा वाककलासम्बन्धी धेरै कुरा सिक्न पाएको बताए । प्रशिक्षार्थी प्रमिला गुरूङले महिलाभित्र रहेको क्षमता पनि अभ्यास नहुँदा भित्रै लुकेर बसेको कुरा तालिम लिएपछि बुझेको बताइन् । तालिम लिएपछि आफूलाई मनमा लागेको कुरा समूहमा राख्न सक्ने भएकी उनको भनाइ छ ।

अर्की प्रशिक्षार्थी सरिता अधिकारीले पाँच दिनसम्म सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने चुनौती रहेको बताइन् । प्रशिक्षार्थी चन्द्रा रानाभाटले पाँच जनाको अगाडि उभिन पनि नसकेको मान्छेलाई पाँच दिनको सिकाइले समूहमा बोल्न सक्ने बनाएको बताइन् ।




