सुर्खेत ।
कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे ‘भेटेरेनरी जेटिए’ पढिरहेका छन् । माध्यामिक शिक्षा परीक्षा (एसइई) पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका उनी अहिले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् ।

पढाइ सँगैसँगै उनले सोही विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले दिएको ऋणले १२ बङ्गुर र एक सय ५० बट्टाइपालन गरिरहेका छन् । आचार्यसहित छ विद्यार्थीले बङ्गुर र बट्टाइबाटै विद्यालयको शुल्क र ऋण तिरिरहेका छन् । “स्कुलको ऋण तिरेर पनि फाइदा हुन्छ”, उनी भन्छन्, “पढाइ खर्चबाट बचेको पैसा घरमा पठाउँछु ।”
उनका अनुसार विद्यार्थीले लिएको ऋणको ब्याज तिर्नुपर्दैन । विद्यालय छाड्ने बेलासम्म साँवा रकममात्रै तिरे पुग्ने उनले बताए । सोही विद्यालयमा तीनवर्षे भेटेरेनरी जेटिए अध्ययन गरिरहेका सुर्खेतकै दीपक शाही विद्यालयको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत बट्टाइको चल्ला ह्याचरी सञ्चालन गर्छन् ।
यसबाट उनले आफ्नो पढाइ खर्चसँगै घरपरिवारलाई खर्च पठाउने गरेका छन् । अहिले उनलाई विभिन्न ठाउँबाट चार हजार दुई सय चल्लाको माग आएको छ । दीपक जनज्योतिमा पढेर उद्यम गरेकै कारण विद्यालयको सिफारिसमा उनका आमाबुवालाई कृषि गर्नका लागि बैंकले सहुलियतमा रु १० लाख ऋण दियो । सैद्धान्तिकसँगै प्रयोगात्मक गर्दा बुझ्न सहजता हुनुका साथ पढाइ प्रभावकारी भएको आचार्य र शाहीको अनुभव छ । विद्यालयले तीन वर्षदेखि ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ । विद्यालयमा अध्ययन गरिरहेका सबैले ऋण लिएर कृषि व्यवसाय गर्न सक्छन् । ‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देलले जानकारी दिए । “विद्यार्थीले काम गर्ने जाँगर मात्रै देखाउनुपर्यो”, उनले भने, “उनीहरूलाई समूह वा व्यक्तिगतरूपमा सानोतिनो व्यवसायका लागि ऋण दिइरहेका छौँ ।” विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुन्छ । भेटेरेनरी र कृषितर्फ १८ महिने र तीनवर्षे कक्षा सञ्चालन भइरहेको छ । विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन् । त्यसमा कुन व्यवसाय रोजेर कक्षा शिक्षकलाई प्रस्तावना दिन्छन्, त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन् ।



