देवघाट तनहुँ: असोज ९ गते
पवित्रा तिर्थस्थल देवघाटधाममा सोह्रश्राद्धको अन्तिम दिन आज ज्ञात-अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ। असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ।
असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ। आज पितृको नाममा गर्नुपर्ने कर्मकाण्ड गर्दै शुद्वको लागि श्राद्वको अन्तिममा कुसको औँठि बनाएर लगाउने चलन पनि छ ।

पितृ बिसर्जनको लागि नेपालगन्जबाट पहिलोपटक देवघाट आएकी बिष्णुमायाँ गिरिले पवित्रा स्थल देवघाट भएर पितृको कर्मकाण्ड देवघाटमै गएर गरौं भनेर पितृहरूलाई खुशी पार्नको लागि देवघाट आएको बताए । पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ।

टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन्। पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ ९ दिवङ्गत परिवारजन त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू धर्मावलम्बी आज तीर्थस्थलमा श्राद्ध गर्न पुगेका हुन् ।

दशैँ, तिहार र छठजस्ता महान् चाडबाडअघि पितृहरूलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराका कर्मकाण्डका ज्ञाता बताउँछन्।
हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ।





