भरतपुर
मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को दोस्रो गीतको भिडियो सार्वजनिक भएको छ। ‘भमरा डुल्यो’ बोलको सालैजो गीत बडादसैँको घटस्थापनाको दिन पारेर ‘साना कथा’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा कलाकारहरु रमेश रानामगर, सनम आलेमगर, ईश्वर रानामगर, स्रष्टी थापामगर, प्रिज्मा आलेमगरलगायतका कलाकारहरुले अभिनय गरेका छन्। मनोज लामा र रेनु तामाङको निर्देशनमा बनेको गीतको भिडियोको छायाङ्कन तथा सम्पादन भने घना गुरूङले गरेका हुन्। सर्जक दिवान किनारको शब्द/संगीतमा तयार भएको गीतमा पवन रानामगर र देवी घर्तीमगरको आवाज सुन्न सकिन्छ।

अमृता थापा रानामगर, प्रेमकुमारी आलेमगर, तुलमान गुरूङ र देवेन्द्र रानामगरको लगानीमा निर्माण भएको चलचित्रमा रमेश रानामगर, ईश्वर रानामगर, आशिक रानामगर, सनम आलेमगर, प्रिज्मा आलेमगर, बलविक्रम थापामगर, भीमबहादुर थापामगर, देवी थापामगर, प्रेमकुमारी आलेमगर, मिलन पाटामगरलगायतका कलाकारहरुले अभिनय गरेका छन्।

चितवनका सञ्चारकर्मी एवं पत्रकार रमेश रानामगरको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा घना गुरूङले छायाङ्कन तथा सम्पादन गरेका हुन्। चलचित्रलाई रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको हो।




