पोखरा, असोज २४-
कास्कीमा ९ पदका लागि १ सय ८ जनाको उम्मेद्वारी परेको छ । प्रतिनिधिसभातर्फ ५३ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा का लागि ५५ जना उम्मेद्वार भएका छन् ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि ४ जना स्वतन्त्र र १३ राजनीतिक दलसहित १७ जनाले मनोनयन दर्ता गराएका छन् । एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालबीच कडा प्रतिस्पर्धा हुनेछ ।
बराल गठबन्धनको साझा उम्मेद्वार हुन् । प्रदेशसभा (क) का लागि गठबन्धनबाट माओवादीका दीपक कोइराला र एमालेका खगराज अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका बेदबहादुर गुरुङ आमनेसामने भएका छन् ।
क्षेत्र नम्बर २ तर्फ प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालबीच प्रतिस्पर्धा हुनेछ । २ (क) मा माओवादीका विश्वप्रकाश लामिछाने र एमालेका भीम कार्की आमनेसामने भएका छन् भने २ (ख) मा बहालवाला २ सांसदबीच कडा टक्कर हुने छ । कांग्रेसले मन्त्री विन्दुकुमार थापालाई टिकट दिएको छ भने एमालेले मीना गुरुङलाई अघि सारेको छ ।
क्षेत्र नम्बर ३ मा गठबन्धनबाट माओवादीका रामजी बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । ३ (क) बाट माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङबीच बढी प्रतिस्पर्धा हुनेछ । ३ (ख) बाट कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीचमा प्रतिस्पर्धा हुनेछ । क्षेत्र नम्बर १ मा १७, २ मा १८ र ३ मा पनि १८ जनाकै उम्मेद्वारी छ ।



