इनरुवा, असोज २४-
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताउनुभएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायातसहितका क्षेत्रका कामहरुलाई पूर्णता दिनका लागि काम गर्ने मन्त्री कार्कीले उल्लेख गर्नुभयो । प्रतिनिधिसभामा आफ्नो पाँचवर्षे कार्यकाल अन्तर्गत विश्व नै कोरोना महामारीका कारण डेढ वर्ष पूर्ण प्रभावित भएको र बाँकी समय आफूले राम्रो काम गरेको दाबी पनि उहाँको थियो ।
उहाँले कांग्रेस सरकारले नागरिकका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्ने बताउनुभयो । मन्त्री कार्कीले आफूहरूले गरेको कामको अध्ययन गरी सही मूल्याङ्कन गरिदिन नेपाली जनतालाई आग्रह गर्दै अगामी दिनमा कसरी काम गर्ने भन्नेबारेमा स्पष्ट धारणाका साथ जनताका घरदैलैमा भेटभाट गर्न आफू जाने पनि बताउनुभयो ।
आगामी निर्वाचनमा आफू विजयी भएसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, गरिबी निवारण र रोजगारीको सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको मन्त्री कार्कीले बताउनुभयो । अघिल्लो निर्वाचनमा पनि विजयी बन्नुभएका मन्त्री कार्कीले दोस्रोपटक सोही क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । रासस



