चितवन,असोज २४-
चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जना विरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाई रहेका छन् ।
यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा क्षति भएको थियो । सो घटनालाई लिएर नेपाल चिकित्सक सङ्घले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । रासस



