एमालेबाट ‘विद्रोह’ गरेका साह अब कता ?

images
  • 47
    SHARES
  • आश्विन २५, २०७९ मंगलबार
    एमालेबाट ‘विद्रोह’ गरेका साह अब कता ?
    images
    साह समूहबाट मधेसका ८ जिल्लामा प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १७ उम्मेदवार
    स्वतन्त्र उम्मेदवारी दिनुअघि माओवादीसँग छलफल

    काठमाडौं, रौतहट — नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहसहितका जिल्लास्तरका केही नेता मधेस प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर अलग भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि साह समूहले २५ स्थानमा स्वतन्त्र उम्मेदवारी दिएको छ । जनता समाजवादी पार्टी (जसपा) सँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।


    स्वतन्त्र उम्मेदवारी दिनुअघि साहले माओवादीसँग छलफल गरेका थिए । ‘हाम्रो विचार मिल्छ, सँगै जाऔं भनेर कुरा भएको हो, मिलेर चुनाव लड्नेबारे टुंगो लागेन,’ माओवादीका एक वरिष्ठ नेताले भने, ‘एमालेबाट विद्रोह गर्नुभएको छ । अब थप कुराकानी होला ।’ माओवादीका मधेसका नेताहरूले साह समूहले स्वतन्त्र उम्मेदवारी दिने कुरा मनोनयन गर्ने अघिल्लो दिनै जानकारी पाएका थिए ।

     
     

    रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिँदै साहले जसपासँग गठबन्धन गरेर एमाले अपवित्र भएको दाबी गरेका थिए । २०६४ सालदेखि उनले आफ्नो गृहनगर मौलापुरसमेत पर्ने त्यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् । प्रतिनिधिसभाअन्तर्गत मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये ८ वटामा विद्रोह भएको छ भने प्रदेशसभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिँदा रौतहट–३ मा एमालेको उम्मेदवारी रिक्त भएको छ । एमालेले अर्को व्यक्तिलाई उम्मेदवार बनाउने कोसिस गरेको थियो तर आइतबार निर्वाचन कार्यालय पुग्दा ढिला भइसकेको थियो । सर्लाही १ (१) मा उम्मेदवारी दिएका चन्द्रभूषण साहले प्रतिनिधिसभामा ८ वटा क्षेत्र र प्रदेशसभामा १७ क्षेत्रमा उम्मेदवारी परेको बताए । प्रभु साहले बनाएको आईटी आर्मीका प्रमुख साहले एक्लै चुनाव लडौंभन्दा एमालेले नमानेपछि आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । ‘हामीले जसपा र अन्य दलहरूसँग गठबन्धन गर्नु हुँदैन भन्दै आएका थियौं, केन्द्रले स्वीकार नगरेपछि उम्मेदवारी दिएका हौं,’ उनले भने ।

    उनका अनुसार प्रतिनिधिसभातर्फ रौतहट–३ बाट प्रभु साह, रौतहट–२ मा किरण साह, रौतहट–४ मा प्रदीप साह, महोत्तरी–३ मा रामआधार कापड, सर्लाही–१ मा मानवबहादुर खड्का, धनुषा–१ मा किशोरी साह कमल, धनुषा–४ मा कृष्णकुमार महतो र पर्सा–१ मा सन्तोष श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यसैगरी सर्लाही–३ (१) बाट रेणुका पौडेल, बारा–४ (२) बाट उमेश कुशवाहा, रौतहट–३ (१) बाट केशव राय चौधरी, रौतहट–३ (२) बाट कुन्दन कुशवाहा, रौतहट–१ (२) बाट राजेश चौधरी, रौतहट–१ (२) बाट मनोज यादव, महोत्तरी–३ (१) बाट मुजिम राय, महोत्तरी–३ (२) बाट सुनील रोहित, सिरहा–३ (२) बाट गोपालप्रसाद यादव, सिरहा–२ (२) बाट योगेश सिंह, महोत्तरी–१ (२) बाट प्रमोद महतो, बारा–१ (१) बाट देवराज घिमिरे, बारा–१ (२) बाट जयन्त कुशवाहा, पर्सा–१ (२) बाट कदम रसुल, पर्सा–४ (२) बाट प्रह्लाद गुप्ता र पर्सा–२ (१) बाट विनोद लामाले उम्मेदवारी दिएका छन् ।

    उम्मेदवारी दर्ता गर्नुअघि आइतबार साहले कार्यकर्तासँग एमालेले मधेसको अस्थिर र साम्प्रदायिक शक्तिसँग साँठगाँठ गरेकाले पार्टीको टिकटबाट लड्नुभन्दा जनताको टिकटबाट उठ्नु उचित हुने बताएका थिए । ‘अब जनताले देखाउने छन्, रौतहट के हो भन्ने चिनाउने छन्,’ उनले भनेका थिए, ‘जसपासित गठबन्धन गरेर एमालेले ठूलो गल्ती गर्‍यो । उसले दिएको टिकटबाट चुनाव लड्दिनँ । जनताको टिकटबाट लड्छु ।’

    नेकपा विभाजनपछि माओवादीमा नफर्की एमालेमा बसेका साह पछिल्लो समय केन्द्रको निर्णयप्रति असन्तुष्ट देखिन्थे । मधेस प्रदेशबाट उनले अन्य दलका स्थानीय नेता–कार्यकर्तालाई ठूलो संख्यामा एमालेमा प्रवेश पनि गराएका थिए । साहनिकट स्रोतका अनुसार आफूले एमाले प्रवेश गराएकालाई टिकट दिलाउन नसकेपछि उनले स्वतन्त्रमै भए पनि उम्मेदवारी दर्ता गराएका हुन् । ‘एमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको छ भनेर लागेका थियौं, जसपाजस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका हौं, हामीले निरन्तर भनिरहेका थियौं कि यसले मधेस र देशमा पार्टीलाई घाटा हुन्छ,’ उम्मेदवारी दर्तापछि साहले भनेका थिए, ‘कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनु हुन्न भन्दा पनि सुनुवाइ भएन । मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग गठबन्धन बनाइसकेपछि एमाले अपवित्र भयो । त्यो अपवित्रतामा सँगै हिँड्न सकिँदैन भनेर स्वतन्त्र उठेको हुँ ।’

    साहकै पहलमा एमाले अध्यक्ष ओलीको हातबाट टीका लगाई एमाले प्रवेश गरेका कांग्रेसका जिल्ला सचिव राजेश चौधरी र स्थानीय तह निर्वाचनमा गुजरा नगरपालिकामा एकीकृत समाजवादीका प्रत्याशी केशव चौधरीले टिकट नपाएपछि साह रुष्ट बनेका हुन् । राजेशले रौतहट–१ (२) र केशवले ३ (२) बाट प्रदेशसभा सदस्यमा टिकट पाउनेमा साह ढुक्क थिए । एमाले रौतहट जिल्ला सचिव बालविक्रम कार्कीले टिकट नपाएकै कारण साहले स्वतन्त्र उम्मेदवारी दिएको हुन सक्ने बताए । ‘पार्टीको टिकट लत्याएर उहाँले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ, यसले पार्टीलाई खासै फरक पर्दैन,’ उनले भने, ‘पदाधिकारी बैठक बसेर उनीबारे के गर्ने भन्ने निर्णय लिइन्छ । उहाँले एमाले छोड्नुभएको हैन ।’

    आफूहरूले पहिलेदेखि नै साहको भूमिका पार्टीमा रहने प्रकारको नरहेको र जुनसुकै समयमा धोका हुन सक्ने भनेर नेतृत्वलाई बारम्बार भनेको एमालेका एक पोलिटब्युरो सदस्यले बताए । ‘अहिले परिणाम त्यस्तै देखियो,’ उनले भने, ‘साहले पार्टीभित्रै आईटी आर्मी भन्ने समूह चलाउँदै आउनुभएको थियो, त्यसमा रहेका नेताहरूलाई विभिन्न ठाउँमा उम्मेदवार बनाएको जानकारी आएको छ । के–कति भन्ने यति नै संख्या हो भनेर निश्चित गरेका छैनौं ।’

    पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको प्राथमिकतामा इन्चार्ज महासेठ र महासचिव शंकर पोखरेलको प्राथमिकतामा साह पर्दै आएका थिए । साह मधेसमा एमालेले कुनै पनि दलसँग चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका थिए । केन्द्रका नेताहरूलाई उनले भेटेर एमालेमा विभिन्न दलका नेताहरू आइरहेको समयमा तालमेल गर्न नहुने बताएका थिए । साह विपक्षमा रहे पनि प्रदेश इन्चार्ज तथा सचिव रघुवीर महासेठले जसपासँगको चुनावी गठबन्धनमा जोड दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पहिलो चरणको वार्ता भएपछि महासेठको निवासमा थप छलफल र सहमति भएको थियो ।

    महासेठ र साहबीच पार्टीभित्र खिचातानी चल्दै आएको थियो । ‘जनस्तरमा राम्रो आधार बने पनि स्थानीय चुनावमा महासेठ र साहबीचको तानातानी र तिक्तताका कारणले केही पालिका गुम्यो,’ एमालेका एक पदाधिकारीले भने, ‘अहिलेको चुनावमा पनि त्यस्तै देखिँदै छ ।’

    सर्लाहीमा कांग्रेस, एमाले र माओवादी गठबन्धन

    सर्लाही–१ मा कांग्रेस, एमाले र माओवादीका स्थानीय नेताहरूले केन्द्रको गठबन्धनविरुद्ध संयुक्त प्यानल बनाएका छन् । स्थानीय नेताहरूले लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्कालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएका छन् । खड्का एमालेका नेता हुन् । प्यानलबाट प्रदेशसभातर्फ १ मा माओवादीका रामचन्द्रसिंह कुशवाहा र २ मा कांग्रेसका राजन श्रेष्ठले उम्मेदवारी दिएका छन् । ‘प्रमुख सबै राजनीतिक दलका स्थानीय कमिटीको सहमतिमा हामीले उम्मेदवारी दिएका हौं,’ खड्काले कान्तिपुरसँग भने, ‘नेताहरू माथि ठालु पल्टिने र तल्लो तहको संगठनलाई वास्ता नगर्ने भएकाले सबै पार्टीको नेतृत्व हुने गरी मेरो उम्मेदवारी हो । यो सामूहिक विद्रोह हो ।’

    खड्का २०७४ मा एमालेबाट लालबन्दी नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । श्रेष्ठ कांग्रेसको नगर कमिटीका सदस्य हुन् भने कुशवाहा माओवादी प्रदेश कमिटी सदस्य हुन् । केन्द्रमा भएको सहमतिअनुसार सर्लाही–१ सत्तारूढ गठबन्धनबाट लोसपा र विपक्षी गठबन्धनबाट जसपाको भागमा परेको छ । प्रदेशसभाको १ कांग्रेस र २ एकीकृत समाजवादीको भागमा परेको छ । प्रतिनिधिसभामा लोसपाबाट रामप्रकाश चौधरी र जसपाबाट निवर्तमान सांसद प्रमोद साह उम्मेदवार छन् । प्रदेशसभातर्फ सत्तारूढ गठबन्धनबाट १ मा कांग्रेसका उपेन्द्र महतो र २ मा एकीकृत समाजवादीकी निवर्तमान प्रदेशसभा सदस्य बेची लुंगेली उम्मेदवार छन् । विपक्षी गठबन्धनबाट १ मा किशुनदेव राय र २ मा शान्तिकुमारी लामा उम्मेदवार छन् । उनीहरू दुवै जना एमालेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend