बुटवल, असोज २७–
रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेजलाई सदर गर्दै निर्वाचन आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । सत्तारुढ गठबन्धनको उम्मेदवारी नै खारेज भएपछि रुपन्देही–२ एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई चुनाव जित्न सहज भएको छ । अव यस क्षेत्रमा पौडेलसहित साना दल र स्वतन्त्र गरी १५ जनाको उम्मेदवारी कायम भएको छ ।

यो क्षेत्रमा १८ जनाको उम्मेद्वारी दर्ता भएकोमा तीन जना उम्मेदवारमाथि परेको उजुरी छानविन गर्दा सत्ता गठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले तीनैजनाको उम्मेदवारी खारेज गरेको थियो ।
कमल भुसालको उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दिएका थिए । उजुरीमाथि छानविन गर्दा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले भुसालको उम्मेदवारी खारेज भएको हो ।
यस्तै गुरुङ र बस्यालको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) अनुसार दुबै जना उम्मेदवार हुन अयोग्य भएकाले उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ७ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालो सूचिमा राखेको थियो ।
गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो । सत्ता गठबन्धनले भने गुरुङको उम्मेदवारी खारेजीको निर्णय सच्याउन र निर्वाचन अधिकृत उद्विर नेपालीलाई हटाउन माग गर्दै बुधबार जिल्ला निर्वाचन आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।



