मोरङ, असोज २८–
अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरीशनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् ।

रेखाले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताइन् । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उनले बताइन् ।
उनले आफूलाई जिताए जनप्रतिनिधि भनेको रेखा जस्तै हुनुपर्छ भन्ने गौरव गर्न लायक बन्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘यो क्षेत्रबाट हामीले धेरैलाई जनप्रतिनिधि बनाइसक्यौं तर उल्लेखनीय रूपमा सुधार हुन सकेन,’ उनले भनिन्, ‘यसैले पनि उम्मेदवारका रूपमा यहाँ आएकी हुँ ।’



