गोरखा, असोज २९-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको छ । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका उहाँले आज बिहान दरबार अवलोकन गर्नुभएको हो ।

दरबार अवलोकनका लागि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डेलगायतका नेता गोरखा दरबार पुग्नुभएको थियो । जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबारदेखि गोरखामा रहनुभएको छ । उहाँले जिल्लामा सत्ता गठबन्धनका दलका नेता, उद्योगी–व्यवसायीलगायतसँगको छलफललाई तीव्र पार्नुभएको छ । रासस



