गोरखा, असोज २९-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान वाम-लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताएका छन्। गोरखामा सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए।
‘पटक-पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो,’ उनले भने, ‘अब यसलाई मंसिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ।’ फरक प्रसंगमा अध्यक्ष दाहालले आफू नयाँ रेकर्ड बनाउने उद्देश्यसहित चितवन छाडेर गोरखामा निर्वाचन लड्न लागेको भन्दै यसको छुट्टै महत्व रहेको समेत बताए।
‘गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन,’ उनले भने, ‘गोरखाको भूगोल, संंस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु।’ उनले आफू गोरखा २ नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भए पनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक समृृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने बताए। नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको उनको भनाइ थियो।



