बहुआयामिक अविश्रान्त साधक

images
  • 38
    SHARES
  • आश्विन ३१, २०७९ सोमबार
    बहुआयामिक अविश्रान्त साधक
    images

    एक शताब्दीभन्दा लामो जीवन बाँचेर आइतबार निधन भएका सत्यमोहन जोशीप्रति शाब्दिक श्रद्धा अर्पण गर्नेमध्ये धेरैले एउटा साझा कुरा लेखे/भने, ‘उनी लोभलाग्दो जीवन बाँचेर गए ।’ १०३ वर्षसम्म, त्यो पनि धेरै समय ओछ्यान नपरीकनै बाँच्नु नै आफैंमा अनुपम उदाहरण हो, तर त्यतिले मात्र उनको जीवनलाई लोभलाग्दो बनाएको पक्कै होइन ।

    cdfg.jpg

     

    आफ्नो शतायुका ८ दशकभन्दा बढी जोशी जसरी कला–संस्कृति, इतिहास र भाषा–साहित्यजस्ता बहुविधामा अविश्रान्त क्रियाशील रहिरहे, उनको जीवनको त्यही सत्य नै अरूका लागि मोहनी बनेको हो । देशमा राणा शासन ढल्दा–नढल्दैदेखि काठमाडौं–वृत्तमा ‘हु–इज–हु’ का रूपमा चिनिन थालिसकेका जोशी मृत्युको केहीअघिसम्म पनि उत्तिकै सक्रिय थिए । यही दशकौं लामो, अविच्छिन्न र बहुआयामिक सक्रिय सार्वजनिक जीवन नै जोशीको पर्याय हो ।

     
     

    २०१३ सालमै ‘हाम्रो लोकसंस्कृति’ पुस्तकका लागि पहिलो मदन पुरस्कार पाएका जोशीलाई त्यसपछि पनि यो प्रतिष्ठित सम्मानले पछ्याइरह्यो । २०१७ सालमा ‘नेपाल राष्ट्रिय मुद्रा’ र २०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ पुस्तकका लागि पनि उनले यो पुरस्कार पाए । तीन पटकसम्म यो सम्मान पाएको कीर्तिमान आजपर्यन्त उनकै एकल नाममा छ । जोशीको कृतित्वको दुर्लभ उदाहरण यही मदन पुरस्कारकै सूचीबाट पनि भेउ पाउन सकिन्छ— त्यो हो बहुविधामा उनको साधना । कुनै एक क्षेत्रमा अटुट अनुशीलन गर्नेहरू त धैरै छन् तर जोशी यस्ता अपवाद हुन्, जसले अनेकौं विधामा खोजबिन गरेर कलम चलाए, त्यो पनि पुरस्कार जित्ने गरी, परिणाम देखिने गरी । ‘हाम्रो लोकसंस्कृति’ मा तनहुँ–लमजुङका लोकगीत खोतलेका उनले ‘नेपाल राष्ट्रिय मुद्रा’ मा लिच्छविकालदेखिका नेपाली मुद्राहरूबारे खोजबिन गरेका छन् । यसै गरी अरू चार लेखकसँगको संयुक्त कृति ‘कर्णाली लोकसंस्कृति’ मा कर्णालीको खस सभ्यता–संस्कृति समेटेका छन् ।

    जोशीले नेपाली भाषामा करिब ३ दर्जन र नेपाल भाषामा करिब ४ दर्जन पुस्तक लेखे, जसमा कला–संस्कृति सम्बन्धी खोजमूलक कृतिदेखि नियात्रा, नाटक, कविता र अनुवाद–साहित्यसम्म छन् । उल्लिखित तीन पुस्तकका अतिरिक्त उनका ‘न्युजिल्यान्डमा पहिलो नेपाली’ नियात्रासंग्रह, ‘कलाकार अरनिको’, ‘नेपाली लोकगीत एक अध्ययन’, ‘नेपाली चाडपर्व’ ‘नेवारहरूको महान चाड म्हपूजा’, ‘न्हूगु नेवाः वर्णमाला’ लगायतका पुस्तक विशेष छन् । ‘महर्षि याज्ञवल्क्य’, ‘बाघ भैरव’ र ‘मजिपा लाखे’ जस्ता नेपाली रंगमञ्चमा चर्चित बनेका नाटकका यी लेखकले नेपाल भाषामा ‘अरनिकोकृत श्वेतचैत्य’ र ‘जयप्रकाश’ जस्ता महाकाव्य रचेका छन् । बालसाहित्य सृजना गरेका छन् । जोशीको सोख र साधनाको आयाम कति फराकिलो छ भन्ने त ‘माओत्सेतुङका कविता’ समेत अनुवाद गरेबाटै पनि थाहा हुन्छ ।

    कुनै एउटा व्यक्तिले देश, समाज र संस्कृतिलाई अनेक आयामबाट कति योगदान दिन सक्छ, त्यति जोशीले पनि गरे । दलीय राजनीतिभन्दा बाहेक अनेकौं क्षेत्रमा उनी सक्रिय रहे, जसको मियोमा भने उही कला–संस्कृति र भाषा–साहित्य थियो । राणाकालमै नेपालको नक्सा तयार पार्ने कार्यमा संलग्न उनको संलग्नताका क्षेत्रहरू समयक्रमसँगै विस्तार भैरहे । २०१६ सालमा पुरातात्त्विक तथा संस्कृति विभागका निर्देशक बनेर पुरातात्त्विक सम्पदा संरक्षणमा जुटेका उनी पछि नेपाली भाषा पढाउन चीन पुगे, र त्यही मौकामा अरनिकोबारे अनुसन्धान गरी नेपालका एक विभूतिलाई पुनः राष्ट्रिय चर्चामा ल्याए । २०२६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सहसदस्य रहेका उनी २०३१ सालमा सदस्य सचिव पनि भए । यही क्रममा हो, ‘कर्णालीको लोकसंस्कृति’ पुस्तक प्रतिष्ठानले प्रकाशित गरेको, जुन यस संस्थाले गरेका राम्रा कामहरूको सूचीमा आजसम्म पनि अग्रपंक्तिमै छ ।

     
     
     

    जोशी यस अर्थमा पनि भाग्यमानी नेपाली हुन् कि जीवित छँदै उनले आफ्नो काम–कृतिको प्रशस्त प्रशंसा–सम्मान पाए । के नागरिक के सरकार कसैले पनि उनको सम्मानमा कन्जुस्याइँ गरेनन् । नागरिकस्तरबाट शताब्दी पुरुष घोषित उनलाई सरकारले पनि ‘वाङ्मय शताब्दी पुरुष’ भन्दै १० रुपैयाँको हुलाक टिकट प्रकाशित मात्र गरेन; सय, हजार र २५ सय रुपैयाँका उनका तस्बिर अंकित सिक्का पनि निष्कासन गर्‍यो । यसरी, अति थोरै मान्छेले मात्र आफ्नो जीवनकालमा पाउने राष्ट्रिय सम्मान जोशीले पाए, जसको हक उनी राख्थे पनि ।

    केही आलोचकहरू जोशीलाई गहिरो मीमांसा गर्न सक्ने प्राज्ञका रूपमा लिँदैनन्, जसबारे आ–आफ्नो अभिमत होला । तर उनले जे–जति गरे, लोकका निम्ति स्मरणीय पात्र बन्न त्यति नै पनि पर्याप्त छ, अझ अनुकरणीय नै पनि छ । जीवनभर उनले केही न केही खोजमेल गरिरहे, देश र समाजलाई केही न केही योगदान दिइरहे, एकै समयका कैयौं पुस्ताका निम्ति प्रेरणाको स्रोत बनिरहे, बाटो देखाइरहे । आजको मितिमा उनको जीवनको सबैभन्दा ठूलो सन्देश पनि यही हो— सक्रिय सामाजिक जीवन र अविश्रान्त साधना । यिनै बहुआयामिक व्यक्तित्वका धनी जोशीलाई हाम्रो हार्दिक श्रद्धाञ्जली !

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend