अझै खुलेन अवरुद्ध ग्रामीण सडक

images
  • 53
    SHARES
  • कार्तिक ४, २०७९ शुक्रबार
    अझै खुलेन अवरुद्ध ग्रामीण सडक
    images

    ढोपाटन, कात्तिक ४–

    निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पु¥याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन् । गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ भने उपभोग्य सामान पनि बोकेरै गाउँ पु¥याउनुपर्ने अवस्था छ ।

    290177050_633997801699695_3548149682341655997_n.webp
     
    गाउँपालिकाको वडा नं ३, ४ र ७ का केही गाउँ पुग्ने सडकमा पहिराले कम क्षति पु¥याएको हुँदा सञ्चालनमा आए पनि दर्जन बढी अझै अवरुद्ध नै रहेको स्थानीय दिलबहादुर विकले जानकारी दिए । उनले असारदेखि बन्द भएको सडक अवरुद्ध हुँदा सामान ओसारपसारमा समस्या भएको गुनासो गरे । दसैँअगावै सडक सञ्चालन हुने अपेक्षा गरे पनि तिहार नजिकिँदासमेत खुल्ने सुरसार नभएको उनको भनाइ छ ।
    “दसैँअगाडि नै सडक सञ्चालन भएर गाउँमा गाडी आउला भन्ने लागेको थियो तर आएन, तिहार आउन लाग्यो अहिलेसम्म सडक खुलाउने सुरसार छैन, यही हिसाबले त तिहारमा पनि बोकेरै सामान ल्याउनुपर्ने भयो”, उनले भने, “गाउँमा आउने बाटोको १५–२० ठाउँमा पहिरो गएको छ, कतै माथिदेखि कतै तलदेखि पहिराले बाटो क्षतविक्षत भएको छ, एक दिन डोजर लगाए त खुलाउन सकिने थियो, सडक खुलाउन कसैले पनि ध्यान दिएनन् ।”

    उनले भदौमा आफ्नो बहिनी सिकिस्त बिरामी भएर अस्पताल लैजाँदा बोकेरै अस्पताल लगेको सुनाए । विकले गाउँमा सडक आएर पनि आफूहरूले सुविधा लिन नपाएको दुःखेसो गरे । सरोकारवालाले ध्यान नदिँदा चार महिनासम्म सडक सञ्चालन गर्न नसकेको आरोप छ । केही गाउँमा गाडी चले पनि धेरैजसो गाउँका बाटो पहिराले अवरुद्ध बनेको विक बताउँछन् ।

    “गाउँमा सडक आयो, अब हामी गाउँलेलाई सुविस्ता होला भन्ने सोचेका थियौँ, सडक आउँदा जग्गा–जमिन पनि दियौँ, काम पर्दा उपयोग गर्न पाइएन, बन्द भएको यतिका समय भयो, खुलाउने निकाय वडा कार्यालय, गाउँपालिका होला तर उहाँहरूले ध्यान दिनु भएन”, उनले भने, “गाउँमा धेरै मान्छे बिरामी हुन्छन् गाडी चले त यहीबाटै अस्पताल पु¥याउन सकिन्थ्यो होला, सडक नचल्दा मैले पनि बहिनी बिरामी हुँदा मान्छे लगाएर बोकेरै अस्पताल पु¥याएँ ।”

    निसीखोला –१ लेबाङका पुरन घर्तीमगरले सडक अवरुद्ध हुँदा खच्चडमा सामान ओसार्नुपर्ने अवस्था आएको बताए । उनले बजारबाट गाउँ निकै टाढा रहेको हुँदा दैनिक उपभोग्य सामान बोकेर उपभोग गर्नसमेत गाह्रो भएको भन्दै खच्चडमा ढुवानी गरेको बताउँछन् । सडक खुले यहाँका सयौँ नागरिकलाई सहज हुने उनको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend