सांस्कृतिक उत्सवहरूको शुभकामना !

images
  • 44
    SHARES
  • कार्तिक ८, २०७९ मंगलबार
    सांस्कृतिक उत्सवहरूको शुभकामना !
    images

    मनसुन ढिला बाहिरिएकाले यसपालि शारदीय मौसमको माहोल बल्ल देखिन थालेको छ । यही उल्लासमय वातावरणमा हामी नेपालीहरू देशकै दोस्रो ठूलो पर्व तिहारमा रमाइरहेका छौं । दुई साताअघि दसैं मनाएका नेपालीको घरआँगनमा अहिले एकपछि अर्को पर्व र उत्सव आइरहेका छन्, जसले यो यामलाई नै विशेष बनाइरहेका छन् ।

    thumb.jpg

     

    तिहारका अतिरिक्त, बुधबार म्हपूजा र नेपाल संवत्को नयाँ वर्षारम्भ मनाइन्छ भने आगामी आइतबार छठ पर्व । यही कारण, यति बेला सबै नेपालीका घरआँगनमा उल्लासको माहोल छ, देश पूरै पर्वमय छ । प्रकृति र मानव सभ्यताको समृद्ध सहयात्राका उपजका रूपमा रहेका यी महत्त्वपूर्ण सांस्कृतिक पर्वहरूमा नेपालीहरू झुमिरहेका छन् ।

     
     

    उज्यालोको पर्व तिहारका अवसरमा अहिले के गाउँ–के सहर, जताततै झिलीमिली छ । प्रकृतिको सुन्दर उपहार फूलको झिलीमिली छ, यही लयमा मानिसहरूले बत्तीको झिलीमिली थपेका छन् । र, आफ्नो घर, झ्याल–ढोका, पर्खाल सबै झकिझकाउ बनाएका छन् । यमपञ्चक पनि भनिने तिहारका पाँचै दिन विशेष अर्थपूर्ण छन् । खास गरी यी दिनहरूमा मानव समुदायले सभ्यताको विकासक्रमदेखि आफ्ना सहयात्री बनेका पशुपक्षीलाई जसरी सम्झन्छन् र पूजा गर्छन्, त्यो परम्परा आफैंमा अनुपम छ ।

    यस क्रममा आइतबार कागको पूजा गरियो भने सोमबार कुकुरको । मंगलबार र बुधबार गाई–गोरु र गोबर्द्धन पूजा गरिन्छ । किंवदन्ती र लोकमान्यता जे भए पनि, यसरी आदिमकालदेखि मानव समुदायका सहयोगीस्वरूप रहेका पशुपक्षीलाई विशेष पर्व मनाएरै पूजा गर्नु, सम्पूर्ण प्राणी जगत्को सम्मान गर्नु मात्र होइन, मानव समुदायप्रति तिनले पुर्‍याएको योगदानप्रति कृतज्ञता दर्साउनु पनि हो । बालीनालीमा लाग्ने कीराहरू खाइदिएर गुन लगाउने मानिएको काग, जुगौंदेखि आफ्नो सुरक्षा दिइरहेको तथा साथी बनिरहेको कुकुर र आदिम पेसा कृषिकर्ममा सघाएका गाई र गोरुलाई वर्षको एक दिन भए पनि श्रद्धाका साथ सम्झनु मानव जातिले आफ्नो इतिहास नभुल्नु हो ।

    सोमबार मनाइएको लक्ष्मी पूजालाई तिहारको एउटा विशेष दिनका रूपमा लिइन्छ । धनको प्रतीकका रूपमा लिइने लक्ष्मीको पूजा गर्नु आर्थिक सुख–समृद्धिप्रति मानवीय आकांक्षाको द्योतक हो । तिहारभर चल्ने दीपावली पनि यसै दिन विशेष रूपमा गरिन्छ । टोल–छिमेक र गाउँ–सहरै उज्यालो बनाएर गरिने दीपावलीले मानव जीवनमा भौतिक रूपमा मात्र नभएर चेतनास्तरमा पनि उज्यालो छाओस् भन्ने अर्थ बोकेको हुन्छ । यस्तै, बिहीबार मनाइने भाइटीका पनि भ्रातृत्वका दृष्टिले विशेष छ ।

     
     

    दाजुभाइ–दिदीबहिनीले टीका आदान–प्रदान गरेर दीर्घायुको कामना गरी आपसी आत्मीयता अझ बलियो बनाउने एउटा खास अवसर हो भाइटीका । यसलाई नेवार समुदायहरूले किजा पूजाका रूपमा मनाउँछन् । यसअतिरिक्त, तिहारका क्रममा खेलिने देउसी–भैलोको त नेपालको सांगीतिक–सांस्कृतिक क्षेत्रमै विशिष्ट चिनारी छ । हाम्रो लोकसंस्कृतिलाई समृद्ध तुल्याउन यो परम्पराको आफ्नै देन छ ।

    यही तिहारबीचै बुधबारदेखि नेपाल संवत् ११४३ सुरु हुनेछ  । विसं ९३७ मा यसै दिन व्यापारी शंखधर साख्वाःले चलाएको यो संवत् नेपालको एउटा मौलिक साल हो, जसको महत्त्व पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो छ । यही नयाँ वर्ष शुभारम्भको दिन विशेष गरी नेवार समुदायले म्हपूजा गर्छन् । आफ्नो शरीरको पूजा गर्ने यो संस्कृति आफैंमा अप्रतिम छ । आफूभित्रको लोभ, मोह, तृष्णा, लालसा आदिलाई त्यागेर सबै प्राणीको उद्धार गर्न सकौं भनेर गरिने यस पूजाले मानव जीवनलाई समग्रतामै उज्यालोतर्फ अघि बढ्न अभिप्रेरित गर्छ ।

    यिनै चाड तथा उत्सवलगत्तै आइपुग्छ अर्को महत्त्वपूर्ण पर्व छठ, जुन आगामी आइतबार मनाइन्छ । विशेष गरी तराईमा भव्यताका साथ मनाइने आस्था र सहअस्तित्वको यो पर्व पछिल्ला वर्षहरूमा पहाड पनि उक्लँदै छ; काठमाडौंलगायतका पहाडी भूभागमा पनि अचेल धुमधामका साथ छठ मनाइन्छ । नदी, तलाउ तथा पोखरीमा बसेर सूर्यको पूजा गरिने यस पर्वले प्रकृति र मानवबीचको सम्बन्धको महत्त्व मात्र झल्काउँदैन, मानव–मानवबीच सहअस्तित्वको मर्म पनि उजिल्याउँछ । जलाशयहरू सफा गरी सिँगार्ने र मानव जीवनका लागि अत्यावश्यक सौर्यशक्ति र जलशक्ति दुवैप्रति सम्मान प्रकट गर्ने यो पर्वले दिने सन्देश पर्यावरणको संकट बेहोरिरहेको आजको विश्वका निम्ति विशेष छ ।

    सबै जात, धर्म र क्षेत्रका मानिस सँगसँगै बसेर सूर्यको अर्घ्य दिने यस पर्वले समावेशिता र भाइचाराको भावना पनि बढाइरहेको छ । मधेशभित्रका विभिन्न समुदायलाई मात्र नभएर केही वर्षयता छठले तराई र पहाडलाई पनि जोडिरहेको छ; नेपालीहरूलाई भौगोलिक एकताको सन्देश दिइरहेको छ; आपसी प्रेम, सद्भाव र सहअस्तित्व सिकाइरहेको छ ।

    विभिन्न समुदायले मनाउने हाम्रा यिनै सांस्कृतिक चाड तथा उत्सवहरू तिहार, म्हपूजा, नेपाल संवत् र छठ नेपालको संस्कृति–सभ्यताका महत्त्वपूर्ण पहिचानहरू हुन्, जसका शुभ अवसरमा सबै नेपालीलाई हाम्रो हार्दिक मंगलमय शुभकामना !

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend