१२ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो अन्तिम पटक भएको बताएकी छन् ।

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले आउँदो निर्वाचनमा आफू ६५ वर्ष पुग्ने भन्दै उमेरकै कारणले निर्वाचन लड्ने अवस्था नहुने बताएकी हुन् ।
भुसालले अब युवाले अवसर पाउनुपर्ने बताइन् । ‘मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भनेपनि हुन्छ । राष्ट्रियसभा पनि छ । अरु राजनीतिक मोर्चाहरु पनि छन् । पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु । अब मलाई अर्को चोटी उठ्ने रहर छैन’, भुसालले भनिन् ।



