इनरुवा, कात्तिक १३-
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताउनुभएको छ ।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नं ४ का उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले यस क्षेत्रमा रहेका विद्यालय र मदरसालाई ‘स्मार्ट स्कुल’का रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसका लागि आवश्यक बजेटसमेत विनयोजन गरिसकेको जानकारी दिनुभयो । “मोबाइल नेटवर्कको समस्या सधैँका लागि अन्त्य गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छु”, उहाँले भन्नुभयो ।
कोसी गाउँपालिका–५ को सिँचाइ समस्या समाधान गर्न गलफरिया सिँचाइ आयोजनाको काम अघि बढेको सो अवसरमा मन्त्री कार्कीले जानकारी दिनुभयो । नेपालमा जलस्रोत, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेकाले यसको विकास गरेर देशलाई १० वर्षभित्र दक्षिण एशियाको धनी देश बनाउन सकिने उहाँको भनाइ थियो । विदेश गइरहेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने उहाँले बताउनुभयो । रासस



