पोखरा विमास्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैँले गर्छ : महानिर्देशक अधिकारी

images
  • 38
    SHARES
  • कार्तिक १८, २०७९ शुक्रबार
    पोखरा विमास्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैँले गर्छ : महानिर्देशक अधिकारी
    images

    रुपन्देही –

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैँले गर्ने बताउनुभएको छ । 

    हिजाे बिहीवार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा भैरहवा–क्वलालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरणले गर्ने बताउनुभएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अरू कसैलाई दिने अवस्थामा प्राधिकरण नभएको उहाँकाे भनाइ छ । 

    pradeep_adhikari_66N9SulTBp.jpg

    उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अब नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्नेछ । यो विमानस्थलकाे ग्राउन्ड ह्यान्डलिङ कसैलाई दिने अवस्थामा हामी छैनौँ । किनभने यो विषयमा धेरै नै विवाद भयाे । कि यो प्रतिस्पर्धात्मक हुन्छ कि प्राधिकरणले आफ्नो अधिकार प्रयोग गर्छ । नेपालको कानुनले ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ । त्यस कारणले पोखराको विमानस्थलमा अब कि प्रतिस्पर्धात्मक हुनेछ कि प्राधिकरण आफैँले गर्नेछ ।’

     

    महानिर्देशक अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नका लागि सबै पक्ष जिम्मेवार भएको बताउनुभयो । विमानस्थल सञ्चालनका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने र देश, विदेशमा प्रचारप्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    बिहीवारदेखि हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडान सुरु गरेको छ । पहिलो उडानमा एक सय ३५ जनाले भैरहवाबाट क्वालालम्पुरको उडान भरेका छन् । अहिलेका लागि भैरहवाबाट नियमित चार्टर्ड उडान गरिने र आउँदा दिनमा भने तालिकाअनुसार उडान गर्ने हिमालय एअरलाइन्सले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend